
भाेजपुर । जिल्लाकाे अरुण गाउँपालिका-१ याङपाङमा अहिले छोटो तथा लामो दूरीका बस, टयाक्सी, टेम्पाे, मोटरसाइकल गुड्न थालेका छन् ।
गत वर्ष नै वडा पूर्ण विद्युतीकरण भएको छ भने पिएससी स्तरको स्वास्थ्य भवन, सामान्य शल्यक्रिया, प्रशुति लगायत स्वास्थ्य सेवासुविधाहरू वडामै सहज रूपमा पाइन थालेको छ । ‘एक घर, एक धारा’ खानेपानीको व्यवस्था भएको छ । विदेशमा भएका युवाहरू गाउँ फर्किएर कृषि लगायत अन्य व्यवसाय गर्न थालेका छन् ।
शिक्षालाई पहिलो प्राथमिकतामा राखेर वडाले सबै विद्यालयमा स्मार्ट टेलिभिजन, इ-लर्निङ, टकिङ टिचर लगायतप्रविधिमार्फत् पठनपाठन सुरु गरेको छ । वार्षिक वडाले गाउँपालिकासँगै प्रदेश र संघबाट आउने बजेटबाट शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, यातयात, कृषि, पुल, भौतिक संरचना लगायत विकासका पुर्वाधार निर्माणमा लागेकाे वडाध्यक्ष नगेन्द्र खत्री दाबी गर्नुहुन्छ ।
वडाले शैक्षिक सुधारका कार्यक्रम मार्फत विद्यालयलाई प्रविधिका सामग्री हस्तान्तरण गरेसँगै सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि बढेको शिक्षकहरू बताउँछन् । प्रविधिमार्फत् पढाइ हुन थालेपछि विद्यालय उपस्थितिमा बढोत्तरी हुनुका साथै पढाइमा विद्यार्थीको सक्रियता बढेको उनीहरूको भनाइ छ ।
गाउँमा भएको विकास तथा परिवर्तन देखेर वैदेशिक रोजगार त्यागेर गाउँमै बाख्रा फर्म सञ्चालन गर्न थालेकाे स्थानीय जनक कार्की बताउनुहुन्छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि शिक्षा, स्वास्थ्य यातयात तथा सडकको विकासमा भएको परिवर्तन अतुलनिय भएको स्थानीयको भनाइ छ ।
वर्षाैंदेखि गाउँको विकास भएन भन्दै बसाई सर्ने सुरसारमा रहेकाे स्थानीय पनि अब गाउँमै बस्ने भएका छन् । जनप्रतिनिधि विहीनको २० वर्ष र जनप्रतिनिधिहरूको ५ वर्षमा आकाश पातालको फरक पाइन्छ । अझ गाउँ-गाउँमा सिंहदरबार भन्नेहरूका लागि यो गतिलो उदाहरण हो ।
प्रतिक्रिया दिनुहोस्