
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठनको संकेत गर्नुभएको छ ।
पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाउँदै आउनुभएका थापाले सोमबार पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र पूर्वकेन्द्रीय सदस्यहरूसँग छलफल गर्नुभएको छ ।
छलफलमा उहाँले शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनसँग संवाद भए पनि कुनै प्रगति नभएकाले स्थानीय तहको निर्वाचन घोषणा गर्दासमेत आफ्ना मुद्दा संवोधन नभए विकल्प खोज्ने भन्दै तयार भएर बस्न आग्रह गरेको बताइएको छ ।
थापाले आफूले विकल्प खोजेको अवस्थामा साथ दिन आग्रह गर्नुभयो । तर, यसमा दवाव नदिने भन्दै उहाँले आफ्नो अन्तरआत्मालाई सुन्न सुझाव दिनुभयो । यद्यपि आफूले उठाएका विषयहरू संवोधन भए राप्रपामै बस्न तयार रहेको समेत थापाले बताउनुभयो ।
भेलामा सहभागी राप्रपा पदाधिकारीहरूले भने अध्यक्ष लिङ्देनलाई दवाव दिने भन्दै हतारमा निर्णय नगर्न आग्रह गरेका छन् । छलफलमा सहभागी राप्रपा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दावी गर्नुभयो ।
उहाँले महाधिवेशनले दिएको जिम्मेवारीलाई बहन गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरू प्रतिवद्ध रहेको भन्दै त्यसका लागि अध्यक्ष लिङदेनको भूमिका सबैभन्दा बढि हुने तर्क गर्नुभयो ।
महामन्त्री कुन्ती शाहीले पार्टी विभाजनको पक्षमा पूर्वअध्यक्ष थापा नरहेको बताउनुभयो । उहाँले पार्टी नेतृत्वले विगतमा पार्टीमा दुःख गरेका कुनै पनि नेता, कार्यकर्तालाई पार्टी भित्र समेटेर लैजानुपर्ने बताउनुभयो ।
महामन्त्री शाहीले पार्टीलाई सशक्त बनाउन सबै नेताहरू एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो । थापा निकटवर्तीहरूका अनुसार उहाँले नयाँ पार्टी खोल्ने तयारी गरिसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्