
काठमाडौं । भौतिक पूर्वाधारको अभावमा इस्लामिक शिक्षा दिँदै आएको काठमाडौं उपत्यकामा रहेको एउटा मद्रसा चल्न नसक्ने अवस्थामा पुगेको छ ।
८ कक्षाभन्दा माथि पढ्न अर्को विद्यालयमा जानुपर्ने भएपछि पढाइको उद्देश्यमा पूर्णविराम लागेको छ नै, दिनप्रतिदिन विद्यार्थी घट्ने क्रम तीव्र छ । जामे मस्जिदभित्र रहेको मद्रसा बचाउन सञ्चालकले अपिल गरेका छन् ।
नेपाल जामे मस्जिदमा हरेक दिन ५ पटक अजान गरिन्छ र प्रार्थनाको लागि यसरी नै संकेत गरिन्छ । यही मस्जिद परिसरमा रहेको यो मद्रसा इस्लामिया विद्यालय जहाँ मुश्लिम समुदायका विद्यार्थीको पढाइ हुन्छ ।

भविष्यमा नमाजका लागि योग्य बनाउन कक्षाको सुरुवातमा विद्यार्थीलाई अजान गराइन्छ । सरकारी विद्यालय भन्दा केही फरक विषय उर्दू, कुरान, अरबी, दिनियात जस्ता विषयको यहाँ पठनपाठन गराइन्छ ।
नर्सरीदेखि कक्षा आठसम्म मात्रै पढाइ हुने यस विद्यालयमा हाल १ सय ८ विद्यार्थी अध्ययनरत छन् । जसमा ५९ बालक र ४९ बालिका छन् । अपवादका रूपमा एकजना भने गैर मुस्लिम समुदायका विद्यार्थी छन् ।
विद्यालयमा भौतिक संरचना अभावका कारण थप कक्षा सञ्चालन हुन नसक्दा विद्यालय प्रशासन चिन्तित छ । ९ र १० कक्षा पनि थप गर्नका खेलमैदानबाहेक अन्य आवश्यक भाैतिक संरचना र जनशक्ति तयार रहेकाे भन्दै सरकारकाे अनुमतिकाे मात्र प्रतिक्षामा रहेकाे मद्रसा इस्लामिया विद्यालयका प्रधानाध्यापक फिराेज खान बताउनुहुन्छ ।

विद्यालयका अधिकांश विद्यार्थीले पढ्ने पाठ्यक्रम अरु विद्यालयसरह भए पनि उर्दू र अरबी भाषा अनिवार्य गरिएको छ । अझ रोचक त के छ भने, विद्यालयको दोस्रो तलामा ११ जना विद्यार्थीले नाजरा र हिट्ज पढ्ने गरेका छन् । जसअन्तर्गत कुरानको ३० अध्याय मुखले कण्ठ गर्नुपर्ने हुन्छ ।
३० अध्याय पूरा गर्ने विद्यार्थी मस्जिदमा नमाज पढ्न सक्षम हुन्छन् । नाजराका लागि विद्यालयमा रहुन्जेल अर्थात कुरान कण्ठ नहुन्जेल १० वर्ष माथिका विद्यार्थी परिवारबाट टाढा विद्यालयमै बस्नुपर्ने नियम लागू गरिएको छ ।
यसरी मुस्लिम समुदायलाई केन्द्रित गरेर स्थापना गरिएको मद्रसा विद्यालयमा अधिकांश शिक्षक मुस्लिम नै रहेका छन् । आफू अध्ययन गरिरहेको विद्यालयमा थप कक्षा नहुँदा अध्ययनको लागि अन्य विद्यालयमा जानुपर्ने बाध्यताले विद्यार्थीलाई चिन्तित बनाएको छ ।

‘८ कक्षा पढेपछि पूर्णविराम लाग्छ, १० सम्म पढ्न पाए हुन्थ्याे,’ कक्षा ८ मा अध्ययनरत एक विद्यार्थी भन्छिन्, ‘अन्य विद्यालय जाँदा हामीलाई त्याे वातावरणमा घुलमिल हुनै समय लाग्छ, समस्या पनि हुन्छ, १० कक्षासम्म यहाँ पढेर जान पाए अलि ठूला पनि भइन्थ्याे ।’
राजधानी काठमाडौंमा रहेको इस्लामिक विद्यालय भौतिक संरचनाको अभावमा विद्यार्थीले बीचैमा पढाइ छोड्नुपर्ने बाध्यता आफैंमा न्यायोचित होइन । यसलाई सुसाधन सम्पन्न बनाई विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने तर्फ पहलकदमी हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्