
काठमाडौं, माघ २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू)को कालोसूचीबाट हटाउन आग्रह गर्नु भएको छ ।
मन्त्री आलेले नेपालका लागि ईयूका राजदूत नोना डिप्रेसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले कालो सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले उक्त सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गर्नुभएको हो ।
उहाँले नागरिक उड्डयन क्षेत्रका अलावा संस्कृति तथा पर्यटन क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि ईयूसँग नेपालले सहकार्य गर्न चाहेको बताउनुभयो ।
सो अवसरमा राजदूत डिप्रेले नेपालको उडान सुरक्षा अवस्थाको स्थलगत अवलोकनका लागि ईयूको प्राविधिक टोलीलाई यथाशीघ्र बोलाउन आग्रह गरिने आश्वासन दिनुभयो ।
ईयूले नेपालको उडान सुरक्षालाई सुदृढ गर्न सहयोग गरिरहेको र भविष्यमा पनि सहयोग गरिरहने आश्वासन दिँदै उहाँले नागरिक उड्डयन क्षेत्रमा नियमन र सेवा प्रदान गर्ने अलग अलग निकाय स्थापनाका लागि पनि नेपाललाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्