१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


195
Shares

काठमाडौं, माघ २५ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले बुधबारको संसद बैठक सञ्चालनका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।

संसद सचिवालयका अनुसार बुधबार बिहान ११ बजेका लागि सभामुख सापकोटाले बैठक बोलाउनु भएको हो । सत्तारूढ घटक नेकपा (माओवादी केन्द्र) ले संसद बैठक केही दिन सार्न प्रयास गरिरहेका बेला सभामुख सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाएपछि भोलि संसद बैठक बस्ने देखिएको छ ।

यसअघि संसद बैठक पटक-पटक सर्दै आएको छ । संसद सचिवालयले बुधबारको बैठकका लागि सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ । उक्त कार्यसूचीमा बहुचर्चित एमसिसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने प्रस्ताव भने छैन ।

संसदको बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र सभामुखले विभिन्न शोक प्रस्ताव राख्ने सम्भावित कार्यसूचीमा छ । यसैबीच प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने भोलिको बैठकमा पनि अवरोध जारी राख्ने बताएको छ । एमालेले आफ्ना मागहरू सम्बोधन नभएकाले बुधबारको बैठक पनि अवरोध गर्ने जनाएको हो ।