
काठमाडौं, माघ २५ । निर्वाचन आयोगले चुनावमा भाग लिनका लागि कुनै राजनीतिक दलको सम्बन्धमा विवाद नभएको बताएको छ ।
पछिल्लो समय जन्मिएका केही नयाँ राजनीतिक दलको विवाद पनि सर्वोच्च अदालत तथा निर्वाचन आयोगले सल्ट्याइसकेको आयोगको भनाइ छ । अहिले आयोगमा १ सय ५ वटा राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ ।
निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशित नभएसम्म अरु दल पनि दर्ता हुन सक्ने र निर्वाचनमा भाग लिन पाउने आयोगकाे भनाइ छ ।
सरकारले तोकेको मितिमा निर्वाचन सम्पन्न गराउन आयोग तयार रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले जानकारी दिनुभयो ।
सबै लेखाजोखा गरेर नै सय दिनको आसपासमा निर्वाचन गर्न सकिने गरी आयोगले प्रधानमन्त्री समक्ष मिति प्रस्ताव गरेको उहाँको बताउनुभयो ।
निर्वाचनका लागि जनशक्तिको समस्या नभएको उहाँले बताउनुभयो । आयोगले आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने बताएको छ । विगतको निर्वाचनको तुलनामा आउँदो स्थानीय तह निर्वाचनमा खर्च बढ्ने प्रवक्ता पौडेलले बताउनुभयो ।
आयोगले केही दिनभित्रमै निर्वाचन कार्यतालिका प्रकाशित गर्ने पनि बताएको छ । निर्वाचन कार्यतालिकाको विषयमा छलफल भइरहेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
उहाँले मतदाता नामावली संकलनको कार्य स्थगित भएको उल्लेख गर्दै अब मतदाता नामावलीको अद्यावधिकको काम सुरु हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्