
रोमन आचार्य र राममान डंगोल (ईमेज)
काठमाडौं, फागुन ९ । अनुचित लेनदेनको अडियो रेकर्ड सार्वजनिक गर्ने क्रम बढेको छ । निर्वतमान मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकृयामा ७० करोड ‘कमिसन डिल’ गरेको अडियो प्रकरण तेस्रो हो ।
माओवादी नेता कृष्णबहादुर महरा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त राजनारायण पाठकको ‘घुस बार्गेनिङ’ को २०६७ सालमा चिनियाँ व्यापारी र तत्कालिन माओवादी पार्टीको विदेश विभाग प्रमुख महराबीच भएको हो ।
महराले चिनियाँ व्यापारीसँग प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरिद गर्न ५० करोड नेपाली रुपैयाँ मागेको सुनिन्छ । पैसा लिन महराले सिङ्गापुर, हङकङ अथवा चीनको छेन्दु जाने योजना बनाउनु भएको थियो । महराको यो अडियो प्रकरण तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको शक्ति लागेर सामसुम पारियो । कुनै कारबाही भएन ।
भ्रष्टाचार नियन्त्रणका लागि गठित संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त राजनारायण पाठकले मुद्दा मिलाउन रकम मोलमोलाई गरेको तथ्य यसबाट बाहिर आयो ।
पाठकले २०७४ सालमा भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको नेपाल इञ्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाउन ७८ लाख घुस मागेको अडियो २०७५ साल फागुनमा सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि पाठकले आयोगको आयुक्तबाट पदच्युत हुनु प¥यो । र आयोगले भ्रष्टाचार प्रकरणमा अदालतसम्म मुद्दा पु¥याइसकेको छ । यो अहिलेको बहुचर्चित अडियो हो । प्रधानमन्त्री केपी शर्मा ओलीका बलियो खम्बाका रुपमा चिनिने निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटा र सेक्युरिटी प्रिन्टिङ्ग प्रेस सम्बन्धि स्वीस एजेण्टका रुपमा विजय मिश्रबीच भएको संवाद हो यो ।
७० करोड रुपैयाँ बार्गेनिक गरेको काण्ड बाहिर आएपछि बाँस्कोटाले पदत्याग गरिसक्नु भएको छ । तर, बांस्कोटा शक्तिको आडमा कारबाहीमा पर्लान या महराले जस्तै उन्मु्क्ति पाउलान त्यो चाहिँ अझै स्पष्ट छैन ।
नेपालमा भ्रष्टाचारका काण्डहरु बारम्बार आइरहन्छन । तर, एकै प्रकृतिको काण्डमा कसैलाई उन्मुक्ति र कसैलाई कारबाही गर्ने गरिएको छ । भ्रष्टाचार जस्तो जघन्य अपराधमा न्याय निरुपणमा दोहोरो मापदण्ड अपनाउनु सर्वथा अनुचित छ । कानून सबैका लागि बराबर हो भन्ने मान्यता विकास गरी भ्रष्टाचार काण्डमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ ।
प्रतिक्रिया दिनुहोस्