
काठमाडौं, माघ २६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागेको बताउनु भएको छ ।
बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थीहरुलाई चाँडो कोरोनाविरुद्धको खोप लगाउन र विपन्नहरुको स्वास्थ्य सेवा निःशुल्क गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खतिवडाले यस्तो बताउनु भएको हो ।
उहाँले विद्यार्थीहरुलाई खोपको सहजताका लागि विद्यालयलाई नै खोपकेन्द्र बनाइएको र आउने दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।
मन्त्री खतिवडाले सरकार कोरोनाबिरुद्धको खोप दिनका लागि तयार रहेको र विद्यार्थीहरुलाई खोप लगाउन प्रेरित गर्न विद्यार्थी संगठनले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले अबको केही दिनभित्र नै तेस्रो चरणको रुपमा सम्पूर्ण नेपालीलाई बुस्टर डोज दिने सरकारको योजना रहेको पनि बताउनुभयो ।
विपन्नहरुलाई अहिले पनि निःशुल्क उपचार गरिरहेको बताउँदै धेरै मानिसहरु गाउँपालिकाबाट विपन्नताको कागजपत्र लिएर नआउँदा र उनीहरुलाई सूचना प्रवाह हुन नसक्दा निःशुल्क उपचारबाट वञ्चित भएको बताउनुभयो । उहाँले विपन्न नागरिकहरुको ओपिडी सेवा निःशुल्क गर्नेबारे मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने बताउनुभयो ।
अनेरास्ववियूले भने विद्यार्थीहरुलाई खोपको अनिवार्य व्यवस्था गर्न, स्वास्थ्यसम्बन्धी अधिकारको कार्यान्वयन गर्न, स्वास्थ्यलाई निःशुल्क बनाउन, संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारलाई कार्यान्वयन गर्न र टिचिङ, वीर र पाटन जस्ता सामुदायिक अस्पतालमा विद्यार्थी, किसान, मजदुर लगायत आर्थिक अभाव रहेका वर्गका नागरिकको उपचार निःशुल्क गर्न माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्