१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दृष्टिविहीनका लागि धराप काठमाडौंका फुटपाथ, जोखिमपूर्ण बन्दै पैदलयात्रा


143
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा ४० लाख जनसंख्या रहेको मानिन्छ । यो जनसंख्यामध्ये १० लाख आफ्नै सवारी साधन प्रयोग गर्छन् । तर बाँकी ३० लाखले उपयोग गर्ने सडकपेटी अतिक्रमण गर्न हानाथाप चल्छ ।

दृष्टि पाएकाहरूकै लागि समेत हिँडडुल गर्न कठिन सडकपेटी दृष्टिविहीनहरूका लागि त झन् धराप सावित हुँदै गएको छ । जन्मजात होस् वा कुनै घटना दुर्घटनाले आँखाको दृष्टि गुमाएकाहरू हिँड्ने बाटो सुरक्षित नहुँदा उनीहरूले भोग्ने पीडा बयान गरी साध्य छैन ।

आफू हिँड्न बनाइदिएका बाटोमा दुईपांग्रे साधन नै पौंठेजोरी खेल्न आइपुग्नेदेखि लिएर बाटो छेक्नेगरी बनाइएका पार्किङ र अन्य संरचनाले उनीहरूको दैनिकी झनै कष्टकर बन्दै आएको छ ।

राजधानीको सडकपेटी अपाङ्गमैत्री बनाउने अवधारणा अनुरुप टेक्सटाइल राखिए पनि विद्युत् प्राधिकरणका क्याविनेट, बिजुलीका पोल, जथाभावी पार्किङ सवारी साधन र बिग्रिएका टेक्सटाइलको व्यवस्थापन नहुँदा पैदलयात्रा नै जोखिमपूर्ण बनेको नेशनल ब्लाइन्ड स्पोर्ट्सका अध्यक्ष उपेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

दृष्टिविहीनहरूका लागि सडक पेटीमा बनाइएका पहेँलो रंगको अपाङ्गमैत्री टेक्सटायल उनीहरूकै लागि दुर्लभ बनेको छ । सडक पहिल्याउन सजिलोका लागि राखिएको टायल बाटोभन्दा खुल्ला सडकमा हिँड्न दृष्टिविहीन सहज मान्छन् ।

दृष्टिविहीनलाई दृष्टि भएसरह बाँच्ने अधिकार छ । सरकारले उनीहरूलाई मध्यनजर गर्दै सडकपेटी अपाङ्गमैत्री त बनायो । तर, निर्वाध हिँड्ने वातावरण नहुँदा जसको विवाह उसैलाई हेर्न नदिएजस्तो भएको छ । यसतर्फ सरोकारवालाहरूको ध्यान पुग्न जरुरी छ ।