१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झन्झटिलो र अप्ठ्यारो प्रक्रियाले डिजिटल कारोबारमा आकर्षण कम (भिडियो)


2.366k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले गत वर्षबाट औपचारिक रूपमै क्यूआर कोड स्क्यानिङ गरेर रकम तिर्न सक्ने डिजिटल कारोबारको सुरु गरे पनि आकर्षण कम देखिएको छ ।

कोरोना महामारीपछि ‘क्यासलेस’ कारोबारमा राष्ट्र बैंकले जोड दिएको थियो । तर, प्रक्रिया झन्झटिलो हुँदा अपेक्षित रूपमा भने कारोबारमा वृद्धि हुन सकेको छैन ।

लाजिम्पाट बसोबास गर्ने बृखध्वज वाइबा नक्सालस्थित तरकारी बजार जाँदा बजारमा उपलब्ध स्क्यानरको साटो रकम नै दिनुहुन्छ । स्क्यानिङ गरी रकम तिर्ने प्रक्रिया झन्झटिलो र अप्ठ्यारो लाग्ने वाइबा बताउनुहुन्छ ।

नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारका लागि इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्यूआर कोड स्क्यानिङ, आईपीएस, ई–सेवा, फोन–पे लगायतका कम्पनीलाई डिजिटल कारोबारको अनुमति दिएको छ ।

मासिक रूपमा डिजिटल कारोबारमा सहभागी हुने ग्राहकको संख्यामा वृद्धि भइरहेको छ । तर, प्रक्रिया सहज नहुँदा यसले सबैलाई समेट्न नसकेको सर्वसाधारण बताउँछन् ।

दैनिक १ सय बढि ग्राहक आउने यी पसलमा दैनिक ३ देखि ४ जनाले मात्रै क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्छन् । त्यसबाहेकका अन्य ग्राहक भने सजिलो र छिटो प्रक्रियाका लागि नगदमै कारोबार गर्छन् ।

उसो त कतिपय ग्राहक सजिलो, विश्वासिलो र सुरक्षित हुने भन्दै क्यासलेस कारोबारलाई नै जोड दिन्छन् । ग्राहकहरूले डिजिटल भुक्तानीका लागि आग्रह गर्दासमेत कतिपय क्यूआर कोड राखेका व्यवसायीसमेत रकमकै कारोबारलाई जोड दिन्छन् ।

क्यूआर कोडबाट स्क्यान गरी रकम तिर्दा सजिलो र भरपर्दाे मात्रै हुँदैन, सुरक्षित पनि हुन्छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म १९ लाख १८ हजारपटक क्यूआर कोर्ड स्क्यान गरी ६ अर्ब ५२ करोड ५० लाख रकम बराबरको कारोबार भएको छ ।

तर, बजारमा भने सबै ग्राहकको पहुँच सजिलो नहुनु र डिजिटल भुक्तानीको सचेतनाको अभावमा अझै पनि अपेक्षित उपलब्धी हासिल हुन सकेको छैन । यसका लागि बैंक तथा वित्तिय संस्था र कारोबार निकायको ध्यान जान आवश्यक छ ।