१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


८० प्रतिशत बिग्रेपछि मात्र मृगौला रोगको लक्षण देखिन्छ : वरिष्ठ चिकित्सक काफ्ले


3.068k
Shares

काठमाडौं । मृगौला मानव शरीरको महत्वपूर्ण अंग हो । यो हाम्रो शरीरमा मेरुदण्डको दुवैतर्फ रहेको हुन्छ । मृगौलाले हाम्रो शरीरमा रगतमा भएको फोहोरलाई पिसाबको माध्यमबाट बाहिर पठाउने काम गर्छ र रगतलाई सफा राख्छ ।

मृगौलाले शरीरको रगतमा भएको नुन र खनिज पदार्थलाई पनि सन्तुलनमा राख्ने गर्छ । तर, यस्तो महत्वपूर्ण अंगको रूपमा रहेको मृगौलालाई स्वस्थ राख्न ध्यान नदिँदा मानिसलाई मृगौलासम्बन्धी रोग लाग्ने गरेको छ । मृगौला रोगको उपचार अत्यन्त खर्चिलो र पीडादायक मात्रै छैन यसको उपचारमा लाग्दा कतिपयले घरबारसमेत सिध्याउनुपरेको छ ।

शरीरमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग जस्ता समस्याहरू बढ्दै जाँदा मृगौला खराब हुने चिकित्सकहरूको भनाइ छ । नेपालको कुल जनसंख्यामध्ये ३० लाख मानिसमा मृगौलाको समस्या रहेको वरिष्ठ मृगौला रोग विशेषज्ञ प्राध्यापक डा.ऋषि काफ्लेको भनाइ छ ।

राष्ट्रिय मृगौला रोग उपचार केन्द्रका कार्यकारी प्रमुख र ललितपुरस्थित सुमेरु अस्पतालका कार्यकारी निर्देशक समेत रहनुभएका डा. काफ्लेसँग मृगौला रोगका बारेमा ईमेजखबरका लागि बर्षा पोखरेलकलसा पोखरेलले गरेको कुराकानीको सम्पादित अंश:

मृगौलामा समस्या छ भनेर कसरी थाहा पाउन सकिन्छ ?
मृगौलामा समस्या छ भनेर थाहा पाउन त समय–समयमा परीक्षण नै गर्नुपर्छ । हाम्रोमा रोग नलाग्दै बेला–बेलामा स्वास्थ्य परीक्षण गर्नुको सट्टा रोगले गाँजेपछि मात्रै अस्पताल जाने चलन छ । विगतमा जस्तो मृगौला चेकजाँचका लागि अहिले समस्या छैन । आज भन्दा लगभग ४० वर्ष अगाडी सरकारी अस्पतालमा मृगौलाको जाँच गराउँदा रिर्पोट आउन चार दिन लाग्थ्यो भने अहिले एकैदिनमा हुन्छ । सरकारी मात्रै होइन निजी अस्पतालहरूमा पनि अहिले मृगौला जाँच गराउने सुविधा छ ।

खास गरी मृगौला रोग कसरी लाग्छ ?
मृगौलाले पिसाब बनाउने काम गर्दछ । कुनै व्यक्तिले तरल पदार्थ कति खान्छ, शरीरमा पानीको मात्रा कति चाहिन्छ ? त्यसको आधारमा पिसाबमा पानीको मात्रा निर्धारण गर्ने काम पनि मृगौलाले गर्छ । मृगौलाको अर्को काम भनेको शरीरमा जम्मा भएको फोहोरलाई बाहिर निकाल्ने हो । यसबाहेक मृगौलाले रक्तसञ्चार ठीक राख्ने, नुनको मात्रा ठीक राख्ने र रगत शुद्ध बनाउने गर्छ । उच्च रक्तचाप, मधुमेह, वशांणुगत रोग र बिग्रँदो जीवनशैलीले मृगौलामा समस्या देखिन्छ । कम पानी पिउँदा, दुखाइ कम गर्ने औषधिहरू धेरै प्रयोग गर्दा, शरीरिक व्यायाम नगर्दा र जे मन लाग्यो त्यहि खाँदा पनि मृगौलामा रोग लाग्ने गर्दछ ।

धेरै मानिसहरूको पिसाब रोकेर राख्ने बानी हुन्छ । त्यसले मृगौलालाई कतिको असर गर्छ ?
कहिलेकाहिँ पिसाब रोक्दैमा मृगौला बिग्रिहाल्छ र समस्या आइहाल्छ भन्ने त होइन । तर, बारम्बार पिसाब रोक्नु भने हुदैँन । यदि पिसाबमा इन्फेक्सन छ, पानी कम पिउने गरिएको छ र पिसाब पनि रोक्ने गरिएको छ भने इन्फेक्सन मृगौलातर्फ फर्किन सक्छ । जसले मृगौलामा असर पुर्‍याउँछ । उदाहरणका लागि, राम्रोसँग बगेको नदी सङ्लो र सफा देखिन्छ भने कम बग्ने नदी फोहोर र प्रदुषित देखिन्छ । त्यसैले पिसाब नरोकेको नै राम्रो हुन्छ । आएको पिसाबलाई बेलैमा फाल्दिने हो भने पिसाबको माध्यमबाट शरीरमा भएको फोहोर बाहिर जान्छ ।

मृगौला रोगका लक्षणहरू के–के हुन् ?
मृगौला बिग्रियो भनेर सजिलै थाहा पाउन सकिँदैन । मृगौला बिग्रियो भन्नु नै यसको काम गर्ने क्षमतामा ह्रास आउनु हो । मृगौलाले पिसाबबाट शरीरको फोहोर फाल्न नसके, रगतका फोहोरको मात्रा बढी भए र पिसाबबाट प्रोटिन जान थालेको अवस्थामा मात्र मृगौला रोग लागेको मानिन्छ । यो परीक्षणबाट मात्रै पत्ता लाग्छ । यसको कुनै लक्षण देखा पर्दैन । मृगौला लगभग ८०/९० प्रतिशत बिग्रेपछि मात्रै शरीर सुन्निने , चिलाउने, मुख सुक्ने हुन्छ । यो अवस्थामा गरिने भनेको डायलायसिस र प्रत्यारोपण मात्रै हो । त्यसैले वर्षमा एक पटक मृगौला परीक्षण गर्न जरुरी छ ।

मृगौला रोगबाट बच्न वा रोग लाग्न नदिन के कुरामा ध्यान दिनुपर्छ ।
स्वस्थ्य जीवनशैली नै रोग लाग्न नदिने उपाय हो । समयमा सुत्ने, समयमा खाने, शारीरिक व्यायाम गर्ने, जे मीठो लाग्छ त्यो नखाने, खानेकुरा खाँदा चपाएर खाने, प्रशस्त मात्रामा पानी पिउँदा मृगौला रोगबाट बच्न सकिन्छ । विशेषगरी आहारविहार र विचारमा ध्यान दिनुपर्छ ।

मृगौलालाई सधैँभरी स्वस्थ राख्न के गर्नुपर्ला ?
मुख्य कुरा हामीले खानपिनमै ध्यान दिनुपर्छ । कतिपय खानेकुराले पनि मृगौलालाई असर पारिरहेको हुन्छ । विशेषगरी गुलियो खानेकुरा, मासु, दूधदही र मैदाबाट बनेका परिकार नखानु उत्तम हुन्छ । खाए पनि थौरै मात्रामा खानुपर्छ । मृगौला स्वस्थ्य राख्न दाल, गेडागुडी, सागसब्जी, र फलफुल खानुपर्छ । समान्य भाषामा भन्नुपर्दा हामीले नियमित खाने नेपाली खाना दालभात तरकारीले रोग लाग्न दिँदैन । अहिले चलनचल्तीमा आइरहेको इन्टरमेटिन फास्टिङ (१६ घण्टा नखाने ८ घण्टा खाने) प्रक्रिया पनि मानव स्वास्थ्यका लागि राम्रो मानिन्छ । ५० वर्षअघिका नेपालीहरूको दैनिकी इन्टरमेटिन फास्टिङमा आधारित थियो ।

मृगौला खराब भएपछि डायलायसिस गर्ने गरिन्छ, यो भनेको खास के हो ?
सामान्य भाषामा रगत शुद्धिकरण गर्ने प्रक्रियालाई डायलायसिस भन्ने गरिन्छ । मृगौला बिग्रिएपछि रगतमा फोहोरको मात्रा बढी देखिन्छ । मृगौला खराब भएपछि मानिस शारीरिक रूपमा कमजोर हुन्छ । उसले पिसाब राम्रोसँग फेर्दैन, खाना खान सक्दैन, बान्ता गर्दछ, हिड्दा स्वाँ–स्वाँ हुन्छ, राति सुत्दा छटपटी हुन्छ, शरीर चिलाउँछ । यस्तो अवस्थामा मृगौलाले १० प्रतिशत मात्र काम गर्छ, त्यसपछि मात्र डाइलायसिस गरिन्छ ।

अस्पताल गएका बिरामीको शरीरबाट रगत झिकी मेसिनको मद्दतले त्यसमा भएको विकार निकालेर स्वस्थ रगत पुनः शरीरमा पठाउने पद्धतीलाई हेमो डाइलसिस भनिन्छ । यो हप्तामा दुई पटक गर्नुपर्छ । एकपटक गराउँदा ४ घण्टा लाग्छ । यस्तै अर्को पेरिटोरियल डायलायसिस घरमै बसेर गर्न सकिन्छ । शरीरको नाइटो मुनि एउटा पाइप राखेर स्पेशल पानी अर्थात डायलायसिस फ्यूट ल्याएर दिनमा ३ पटक पेरियोटिक डायलायसिस गरिन्छ ।

अन्य रोगको तुलनामा नेपालमा मृगौला रोगको उपचार महंगो छ नि !
अरु रोग लाग्दा शल्यक्रिया नहुदाँसम्म औषधि सेवन गरिन्छ । तर, मृगौला खराब भएपछि बिरामीले नियमित औषधि खानुपर्छ । साथै हप्तामा २ पटक डायलायसिस गराउनुपर्छ । त्यस्तै मृगौला प्रत्यारोपणपछि पनि बिरामीले बाचुन्जेल औषधि खानुपर्छ, त्यसैले महङ्गो छ । तर अन्य देशको तुलनामा भने नेपालमा मृगौलाको उपचार सस्तो छ ।

मृगौला प्रत्यारोपण गरेका व्यक्ति प्रत्यारोपण पहिलाझैँ स्वस्थ्य रहन्छन् ?
मृगौला प्रत्यारोणपछि पनि मानिस पहिला जस्तै स्वस्थ हुन्छ । नेपालमा झण्डै २ हजार ५ सय जति व्यक्तिले मृगौला प्रत्यारोपण गरेका छन् । फरक यति मात्रै हो कि, मृगौला प्रत्यारोपण गरेको बिरामीले बाँचुन्जेल नियमित औषधि खानुपर्छ । बिरामीको शरीरमा अरुको मृगौला भएका कारण औषधि खानुपर्ने हुन्छ । बिरामीमा मधुमेह बढ्ने इन्फेक्सन हुने हुँदा, आजीवन मृगौला रोग विशेषज्ञसँग सम्पर्कमा रहनुपर्दछ । मृगौला रोगीहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले कोरोनाले पनि मृगौला रोगीलाई बढि प्रभावित पारेको देखिन्छ ।

प्रत्याराेपण गरेको मृगौलाले कति वर्षसम्म काम गर्छ ?
सामान्यतया प्रत्यारोपण गरेको मृगौला १० वर्षपछि बिग्रन थाल्छ । तर, यदि नियमित औषधि सेवन, स्वस्थ जीवनशैली अपनाएको खण्डमा २० देखि ३० वर्षसम्म पनि यसले काम गर्छ । यद्यपि मृगौलाको आयु व्यक्तिको आयुमा पनि भर पर्छ ।

नेपालमा मृगौला प्रत्यारोपणको प्रक्रिया निकै झन्झटिलो छ भनिन्छ नि ?
मृगौला प्रत्यारोपणका लागि मृगौला दिने व्यक्तिको बिरामीसँग रगतको नाता हुनुपर्छ । मृगौला दाता ६० वर्षभन्दा कम उमेरको, दुईओटा मृगौला भएको र मृगौलामा कुनै पनि समस्या नभएको हुनुपर्छ । मृगौला किनबेका लागि आपराधिक श्रृंखला चल्नसक्ने अवस्था नआओस् भन्नका लागि नेपालमा जसले मन लाग्यो त्यसले मृगौला दिने व्यवस्था छैन ।

त्यसैले ऐनमा कडाइ गरिएको छ । धनीले मात्र नभइ गरिबले पनि मृगौला पाएको खण्डमा प्रत्यारोपण गर्न सक्छन् । बाहिरी देशमा जस्तै नेपालमा पनि मष्तिस्क मृत्यु भएका व्यक्तिहरूको अंग दान गरिने हो भने प्रत्यारोपणका लागि मृगौला पाउन सहज हुन्छ ।

मृगौला रोगीको उपचार सहज र सुलभ रूपले गर्न सरकारले गर्नुपर्ला ?
सरकारले अहिले मृगौलाका बिरामीहरूका लागि निजी क्षेत्रका सीमित र सबै सरकारी अस्पतालमा १ लाखसम्मको उपचार खर्चको व्यवस्था गरेको छ । यस व्यवस्थाअनुसार बिरामीले सो रकम बराबरको उपचार सुविधा पाउँछन् । त्यसैगरी भक्तपुर अस्पताल, वीर अस्पताल र महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हप्ताको २ पटक आजीवन निःशुल्क डायलायसिसगर्ने व्यवस्था पनि सरकारले गरेको छ ।

यसका साथै सरकारले मृगौला प्रत्यारोपण गरेका बिरामीका लागि आजीवन निःशुल्क औषधिको व्यवस्था पनि गर्नुपर्छ । मृगौला रोगीको संख्या कम गराउन उपचार मात्रै नभई मानिसमा जनचेतना जगाउन पनि जरुरी छ । अहिलेको अवस्थामा निजी र सरकारी गरेर देशैभर ६ सय भन्दा बढी डायलायसिस गर्ने मेसिन छन् ।

अहिले धेरै मानिसहरूमा मृगौलामा पत्थरीको समस्या पनि देखिने गरेको छ ? खासगरी पत्थरी के कारणले हुने गर्दछ ?
बिग्रँदो जीवनशैलीले नै मृगौलामा पत्थरी गराउने गर्दछ । हामीले खाएका खानेकुराबाट पत्थर बनाउने पदार्थ शरीरमा प्रवेश गर्दा, मसिना बालुवा खानाको माध्यमबाट शरीरमा जाँदा मृगौलामा पत्थरी बन्छ । हामीले खाने खानेकुरामा युरिकएसिड, क्याल्सियम, फस्फोरसजस्ता पदार्थ बढि भयो भने पनि पत्थरी हुन्छ ।

उदाहारणका लागि– एक गिलास पानीमा चिनी घोल्दै जाँदा एउटा स्थिर अवस्था आउँछ, जहाँ चिनी घोलिँदैन । यसलाई सुपरस्याचुरेसन भनिन्छ, मृगौलामा पनि यस्तै अवस्था आउँछ । जब फोहोर पदार्थ धेरै हुँदा पिसाबको माध्यमबाट बाहिर नगइ त्यहिँ पत्थर बनेर बस्छ । त्यसैले पत्थर नबन्ने एउटै उपाय भनेको प्रसस्त पानी पिउनु हो । सामान्य मान्छेले दिनमा ३ देखि ४ लिटर पानी पिउनु पर्दछ ।