
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ ।
दशरथ रंगशालामा शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५–२ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।
फ्रेन्ड्सको पहिलो जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई–दुई गोल गरे । श्यामबाबु केप्छ्याकीले एक गोल थपे ।
ब्रिगेडका ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले एक–एक गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको १४ औं मिनेटमा सुशीलले फ्रि–किकमार्फत गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
लिगमा नवौं चरणको समाप्तीसम्म २३ अंकसहित मच्छिन्द्र क्लब शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको १९ अंक छ भने १७ अंकसहित आर्मी क्लब तेस्रो स्थानमा छ ।
१४ टोली सहभागी लिगबाट दुई टोली रेलिगेशनमा झर्ने प्रावधान अनुसार पुछारमा रहेका फ्रेण्ड्स क्लब र च्यासल युथ क्लब जोखिममा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्