
काठमाडौं, माघ २८ । हुम्लामा हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको छ ।
हावाहुरी चल्दा शुक्रबार बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको हो ।
केही दिनअघि परेको बाक्लो हिउँ पग्लिएर विमानस्थलमा जम्मा हुँदा पनि उडान प्रभावित भएका थिए । घाम लागेको दिनमा पनि बिहान १०/११ बजेपछि मात्र उडान हुँदै आएकोमा शुक्रबार सेवा नै अवरुद्ध भएको हो ।
नेपालगञ्जबाट हुम्लाका लागि उडान भरेका सीता, समिट र तारा एयरका जहाज सिमकोटको आकासमा पुगेर फिर्ता भएको विमानस्थलले जनाएको छ ।
विमानस्थलमा अवतरण गर्ने क्रममा एक्कासी हावाहुरी चल्दा जहाज नेपालगञ्ज नै फिर्ता भएका हुन् । नेपालगञ्जबाट हुम्ला पुग्न जहाजलाई करिब ४५ मिनेट समय लाग्छ ।
हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी रोकिएको छ । यात्रु सिमकोटमै अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस्