
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दावी गर्नुभएको छ ।
सत्तारुढ माओवादी केन्द्रका नेतासमेत रहनुभएका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचीलाई अघि बढाएको बताउनुभयो ।
शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने बताउनुभयो ।
‘अहिलेकै गठबन्धनले एक वर्ष भित्रमा तीन वटै तहको निर्वाचन सम्पन्न गर्छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘निर्वाचनको प्रक्रियाबाट नयाँ स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीय सरकार नबन्दासम्म यो गठबन्धनले आफ्नो कार्यसूचि अघि बढाएको छ ।’
मन्त्री पौडेलले माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान चाहेको र गठबन्धन दलका शीर्ष नेताहरूबीच पनि सोही सहमति भएको बताउनुभयो ।
उहाँले एमसीसी सम्झौता राष्ट्रिय सहमतिको आधारमा मात्रै अघि बढ्ने बताउँदै त्यसका लागि सत्तारुढ दलहरूले कार्यदल बनाएर छलफल अघि बढाएको स्मरण गराउनुभयो ।
साथै उहाँले प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि सरकारले निरन्तर छलफल अघि बढाइएको जानकारी गराउनुभयो । मन्त्री पौडेलले आफूले सार्वजनिक शिक्षालाई सवलीकरण गरेर अघि बढाउन जोड दिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्