३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


बेनी–जोमसोम–कोरला सडकमा धमाधम मोटरेबल पुल निर्माण हुँदै


182
Shares

काठमाडौं । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा कालीगण्डकी नदी र यसका सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण हुन थालेका छन् ।

केही वर्षअघिसम्म बेलीब्रिज र खोलाबाटै सवारी वारपार गर्दै यात्रा गर्नुपर्ने भए पनि अहिले भने धमाधम पक्की पुल बनेपछि आवतजावत सहज बन्दै गएको छ ।

कालोपत्रसहित स्तरोन्नतिको काम अघि बढिरहेको सन्दर्भमा पक्की पुलसमेत निर्माण हुन थालेपछि बेनी–जोमसोम सडकखण्डको जोखिमपूर्ण अवस्था न्यूनीकरण हुँदै गएको छ ।

सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित पोखरेबगर र महभिरमा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।

यसअघि महभिरस्थित अन्नपूर्ण–७ र रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ जोड्ने गरी कालीगण्डकी नदीमा समेत पक्की पुल निर्माण भइसकेको छ ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनीबाट कोरला नाका जोड्ने सडकमा नौवटा मोटर चल्ने पुल निर्माण सम्पन्न भएका छन् ।

एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत थप १२ वटा पुल निर्माणाधीन रहेको आयोजनाले जनाएको छ ।