२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


आजदेखि तातोपानी कुण्ड खुल्यो


221
Shares

म्याग्दी । कोरोनाभाइरस संक्रमणको तेस्रो लहर ओमिक्रोन संक्रमणका कारण गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आज आइतबारदेखि खुला गरिएको छ ।

कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आजदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको हो ।

बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नुहाउन देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत मानिसहरु जाने गर्दछन् ।

कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतको सिक्किम राज्यबाट समेत नियमित आउने भएकाले जनस्वास्थ्यको पालनालाई अनिवार्य गरिएको कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो ।

अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएका ३० हजारभन्दा बढी बिरामी वार्षिक रुपमा तातोपानीमा स्नान गर्न आउँछन् ।

मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सियसको तापक्रममा निस्कने बिरे नुन स्वादको तातोपानी आउने गरेको छ । जमिनभित्रबाट बिरे नुनको गन्धसहित निस्कने तातातोपानीमामा नियमित नुहाउँदा छालासम्बन्धी रोग, ग्यास्टीक तथा अन्य बाह्य रोग निको हुने भएकाले वर्षेनी नुहाउनका लागि बिरामीहरु आउने गर्दछन् ।

कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या भएका बिरामीको चाप धेरै हुने गर्दछ ।