१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भक्तपुर : स्थानीय तहको निर्वाचन २०७४ लाई फर्केर हेर्दा, अबको निर्वाचनमा भने कसले मार्ला बाजी ?


767
Shares

भक्तपुर । स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिनै लागेको छ । देश संघीयतामा गएपछि पहिलोपटक २०७४ वैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत भक्तपुरका ४ वटा स्थानीय तहमा निर्वाचन भएको थियो ।

२०७४ को निर्वाचनमार्फत निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आगामी जेठ ५ मा सकिँदैछ । वर्तमान सरकारले आगामी वैशाख ३० गते एकैचरणमा गर्ने गरी स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।

निर्वाचन घोषणासँगै भक्तपुरको स्थानीय तह निर्वाचनबारे राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणले समेत चुनावी जोड घटाउका गफ गर्न थालेका छन् । राजनीतिक दलहरू पनि निर्वाचन केन्द्रित गतिविधिमा जुट्न सुरु गरिसकेका छन् ।

भक्तपुरमा, भक्तपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका, चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिका गरी जम्मा चारवटा स्थानीय छन् । ती सबै नगरपालिकाका गरेर जम्मा ३८ वटा वडाहरु छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा नगरप्रमुखमा नेकपा एमालेका ३ जना र नेपाल मजदुर किसान पार्टीका १ जना निर्वाचित भएका थिए भने उपप्रमुखमा नेकपा एमालेका तर्फबाट २ जना, नेपाली कांग्रेसका तर्फबाट १ जना र नेपाल मजदुर किसान पार्टीका तर्फबाट १ जना विजयी भएका थिए ।

यसैगरी, वडाध्यक्षहरु अन्तर्गत नेकपा एमालेले १२ वटा वडा, नेपाली कांग्रेसले १३ वटा वडा, नेपाल मजदुर किसान पार्टीले १२ वटा वडा र एक स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पदमा विजय भएका थिए । तर अहिलेको माहोल भने फेरिएको छ । त्यतिबेला निर्वाचन हुँदा एमाले विभाजन भएको थिएन । तर अहिले एमाले विभाजन भएको छ । यसले अबको निर्वाचनमा असर पार्ने नै छ ।

चाँँगुनारायण नगरपालिका
चाँँगुनारायण नगरपालिकामा नगरप्रमुख पदका लागि १३ जनाको उम्मेदवारी परेको थियो । जसमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका सोमप्रसाद मिश्र नगरप्रमुखमा विजयी बनेका थिए । उनले ८ हजार ५१२ मत पाएका थिए । नेपाली कांग्रेसका राजाराम खड्काले ६ हजार ८६९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रबिन्द्रप्रताप शाहले ५ हजार १९८ मत पाएका थिए ।

त्यस्तै, उपप्रमुख पदका लागि १० जनाको उम्मेदवारी परेको थियो । उपप्रमुख पदमा नेकपा (एमाले) की बिना बास्तोला विजयी भएकी थिइन् । उनले ८ हजार ७७९ मत पाएकी थिइन् । निर्वाचनमा नेपाली कांग्रेसकी राधा कार्की (बानियाँ) ले ७ हजार ४७६ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी यवती कार्कीले ४ हजार ५४५ मत पाएकी थिइन् ।

९ वटा वडा रहेको यो नगरपालिकामा ४ वटा वडामा नेपाली कांग्रेसले, ४ वटा वडामा नेकपा (एमाले) ले र १ वटा वडामा नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्षमा विजय हासिल गरेका थिए ।

भक्तपुर नगरपालिका
भक्तपुर नगरपालिकामा नगरप्रमुख पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो । जसमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापतिले २५ हजार ७३० मत ल्याई विजयी भएका थिए । नेपाली कांग्रेसका राम प्रसाद कासुलाले ६ हजार ५६० र नेकपा (एमाले) का विष्णुप्रसाद सुवालले ४ हजार २१८ मत पाएका थिए ।

त्यस्तै, उपप्रमुख पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । उपप्रमुख पदमा नेपाल मजदुर किसान पार्टीकी रजनी जोशीले २५ हजार ७११ मत ल्याई विजयी भएकी थिइन् भने नेपाली कांग्रेसकी गंगालक्ष्मी अवालले ६ हजार ५८७ मत र नेकपा (एमाले) की कृष्णमाया त्वायनाबासु (बोयजु) ले ४ हजार ६३१ मत प्राप्त गरेकी थिइन् ।

१० वटा वडा रहेको सो नगरपालिकामा १० वटै वडामा नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्षमा जितेको थियो ।

मध्यपुर थिमि नगरपालिका
मध्यपुर थिमि नगरपालिकामा नगरप्रमुख पदका लागि १४ जनाको उम्मेदवारी परेको थियो । जसमा नेकपा (एमाले) का मदन सुन्दर (जगुलु) श्रेष्ठले १४ हजार मत प्राप्त गरी विजयी भएका थिए । नेपाली कांग्रेसका अष्ट कुमार कवेंले १० हजार ८४६ मत र नेकपा माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले १ हजार २३२ मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपनगरप्रमुख पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । उपप्रमुख पदमा नेपाली कांग्रेसकी अन्जना देवी मधिकर्मीले १० हजार ६७८ मत ल्याई विजयी भएकी थिइन् भने नेपाल मजदुर किसान पार्टीका केदार खड्काले ८ हजार १५७ मत र नेकपा माओवादी केन्द्रकी सुचित्रा श्रेष्ठले १ हजार ९७१ मत प्राप्त गरेका थिए ।

९ वटा वडा रहेको सो नगरपालिकामा नेपाली कांग्रेसले ६ वटा, नेकपा (एमाले) ले १ वटा, नेपाल मजदुर किसान पार्टीले १ वटा र स्वतन्त्रले १ वटा वडा अध्यक्ष जितेको थियो ।

मध्यपुर थिमि नगरमा नेकपा (एमाले) र नेपाल मजदुर किसान पार्टीबीच चुनावी तालमेल भएको थियो । यी दुई पार्टीबीच तालमेल हुँदा नगरप्रमुख जिते पनि उपप्रमुखमा भने जित हासिल गर्न सकेनन् । उपप्रमुखमा भने कांग्रेस उम्मेदवारले बाजी मारेकी थिइन् ।

सूर्यबिनायक नगरपालिका
सूर्यबिनायक नगरपालिकामा नगरप्रमुख पदका लागि ७ जनाको उम्मेदवारी परेको थियो । जसमा नेकपा (एमाले) का बासुदेव थापाले १२ हजार १३५ मत प्राप्त गरी विजयी भएका थिए । नेपाली कांग्रेसका विष्णुराज कार्कीले १० हजार १६५ मत र नेपाल मजदुर किसान पार्टीकी मनशोभा सुवालले २ हजार २८० मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपनगरप्रमुख पदका लागि ७ जनाको उम्मेदवारी परेको थियो । उपप्रमुख पदमा नेकपा (एमाले) का जुना बस्नेतले १२ हजार ८३२ मत प्राप्त गरी विजयी भएकी थिइन् । नेपाली कांग्रेसकी कल्पना राजथलाले ८ हजार ९०७ मत र नेपाल मजदुर किसान पार्टीका महेन्द्र बखुन्छेंले २ हजार ६०७ मत प्राप्त गरेका थिए ।

१० वटा वडा रहेको सो नगरपालिकामा नेकपा (एमाले) ले ७ वटा र नेपाली कांग्रेसले ३ वटा वडा अध्यक्ष जितेको थियो ।

तर, विगतको राजनीतिक दृश्य भन्दा अहिलेको परिस्थिति बेग्लै छ । नेकपा एमाले फुटेकाले त्यसको असर पर्ने नै छ । हुनत एमालेबाट फुटेर गएको नेकपा एकीकृत समाजवादी पार्टीमा भक्तपुरको स्थानीय तहका एक जना जनप्रतिनिधि (वडा सदस्य) मात्र गएका छन् ।