
काठमाडौं, फागुन २ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आदेश लिएर आफ्नो कार्यालय पुग्नु भएको छ ।
प्राधिकरणको प्रधान कार्यालयमा पुगेर पनि महानिर्देशक क्षेत्रीले कार्यालयमा हाजिर भने गर्न नपाइ फर्कनु भएको छ । डेढ महिनापछि सर्वोच्च अदालतले दिएको आदेश पत्र लिएर उहाँ प्राधिकरण महानिर्देशकको कार्यकक्षमा पुग्नु भएको थियो । तर महानिर्देशक क्षेत्रीले अदालतले आदेश दिए पनि प्राधिकरणका कानुन अधिकृतले महान्यायाधीवक्ताको कार्यालयबाट थप ब्याख्या हुनुपर्ने भन्दै हाजिर गर्न नदिइएको बताउनुभयो ।
उहाँले प्राधिरकणको ऐनमा स्पष्ट महानिर्देशकको कार्यकाल ४ वर्ष हुने भएकाले आफूले चार वर्ष महानिर्देशक हुन पाउनुपर्ने माग राखेर अदालत गएको बताउनुभयो । कार्यालयमा हाजिर गर्न नपाए पनि वकिलहरुसँग छलफल गरेर मंगलबार कार्यालयमा हाजिर गर्न आउने बताउनुभयो ।
महानिर्देशक क्षेत्रीले आगामी फागुन ९ गते अदालतमा दुवै पक्षलाई बोलाएकाले अदालतको निर्णय आफूलाई स्वीकार हुने बताउनुभयो । सर्वोच्च अदालतले प्राधिकरणको महानिर्देशकबाट राजकुमार क्षेत्रीलाई नहटाउन हिजो अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्