७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मोबाइल सेवामा नेपालका तीनै कम्पनी ‘फेल’, काठमाडौंमै गुणस्तरहीन सेवा


9.867k
Shares

काठमाडौं । गुणस्तरका हिसाबले नेपालका मोबाइल सेवा प्रदायक ठूला तीनै कम्पनी फेल भएका छन् ।

काठमाडौं उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो ।

प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो ।

तीन कम्पनीका नेटवर्कभित्र गत पुस १६ गतेदेखि २७ गतेसम्म ११ दिन कलमा लाग्ने समय र कल स्थापित हुन लाग्ने दर परीक्षण गरेको प्राधिकरणले जनाएको छ । परीक्षण अध्ययनमा कल गर्दा लाग्ने समय र कल स्थापना हुने सफलताको दरमा सबैभन्दा अगाडि एनसेल देखिएको छ ।

प्रतिवेदनअनुसार एनसेलको कल स्थापना हुन लाग्ने समय ६ दशमलब ४४ सेकेन्ड रहेको छ । प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समय पाँच सेकेन्ड वा त्योभन्दा कम हुनुपर्छ ।

अन्य दुई कम्पनीको तुलनामा एनसेल अगाडि भए तापनि प्राधिकरणले तोकेको न्यूनतम मापदण्डमा कुनै पनि कम्पनी परेका छैनन् ।

यस्तै कल स्थापना हुने कल सफलताको दर एनसेलको ९६ दशमलव १५ प्रतिशत छ । प्राधिकरणले तोकेको कल स्थापना हुने सफलताको दर ९९ प्रतिशत वा सोभन्दा धेरै हुनुपर्छ ।

नेपाल टेलिकमको कल स्थापना हुन लाग्ने समय ९ दशलमब ५९ सेकेन्ड देखिएको छ भने कल स्थापना हुने सफलताको दर ७७ दशमलव ४२ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ ।

यस्तै, स्मार्ट टेलिकमको कल स्थापना हुने समय १२ दशलमब १७ सेकेन्ड रहेको छ भने कल स्थापना हुने सफलताको दर ८२ दशमलव ७६ प्रतिशत रहेको छ ।

कल ब्लक दर दुई प्रतिशतभन्दा कम हुनुपर्नेमा तीनवटै सेवा प्रदायकको यस्तो दर बढी नै देखिएको छ । औसतमा एनसेलको आठ प्रतिशत, नेपाल टेलिकमको ११ प्रतिशत र स्मार्ट टेलिकमको २८ प्रतिशत देखिएको प्रतिवेदनमा जनाइएको छ ।