
काठमाडौं, फागुन ८ । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न कोही पनि नागरिक नछुटून भन्नेमा सचेत रहेको बताएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदान स्थल अपांगमैत्री हुने गरी आवश्यक नीतिगत व्यवस्था गरिएको र त्यो भए नभएको परीक्षण गर्न अनुगमन गर्ने व्यवस्था गरिएको बताउनुभयो ।
नेपाल अपांग महिला संघका पदाधिकारीसँग भएको भेटमा थपलियाले आगामी स्थानीय तहको निर्वाचनको मतदान केन्द्रमा ज्येष्ठ नागरिकलाई सहज वातावरण, सुत्केरी तथा गर्भवती महिलाका लागि पनि विशेष व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल अपांग महिला संघका पदाधिकारीले सबै मतदान केन्द्र अपांगमैत्री हुने गरी आवश्यक व्यवस्था मिलाउन माग गरेको थियो । निर्वाचन आयोगसँग अपांगमैत्री मतदान केन्द्र र उनीहरुको प्रतिनिधित्व सबै स्थानीय तहमा सुनिश्चित हुने गरी आगामी निर्वाचनमा आवश्यक व्यवस्था मिलाउन माग गरिएको संघकी अध्यक्ष टीका दाहालले जानकारी दिनुभयो ।
संघले अपांगता भएका व्यक्तिहरुका लागि सहज हुने खालको निर्वाचनसम्बन्धी सामग्री बनाउन आयोगको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्