
काठमाडौं, फागुन ८ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहँदा त्यसको प्रभाव स्वरुप बजारमा मूल्य वृद्धि आकासिएको छ । केही समययता खाद्यान्न, दाल, गेडागुडी, हरियो तरकारी लगायतका खाद्य सामग्रीको मूल्य चर्किदा उपभोक्ताको भान्सा महँगिएको छ ।
खाद्यान्न, तेल, दाल, तरकारी जस्ता अत्यावश्यक सामग्रीको मूल्य ३० प्रतिशतसम्म बढ्दा पनि सरोकारवाला निकाय भने मौन छ । १ महिनाकै अवधीमा खानेतेलको मूल्य लिटरमै १५ रुपैयाँसम्म बढेको छ । डलरको भाउमा वृद्धि हुुँदा आयातीत खाद्यान्नको मूल्य त्यही अनुपातमा बढ्दो छ ।
दैनिक अत्यावश्यक वस्तु सबै जसोको मूल्यवृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धि, नजिकिँदै गएको चुनाव, पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा कोेरोना कारक बनेको व्यापारीहरु बताउँछन् । व्यापारीका अनुसार बजारमा खाद्यान्न, तेल गेडागुडी, हरियो तरकारीको मूल्य ३० प्रतिशतसम्म बढेको छ ।
केही दिनअघि मात्रै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आयल निगमले पुन पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ बढाई १ सय ४२ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ बढाई १ सय ४५ रुपैयाँ पुर्याएको छ । यता, १ महिनाकै अवधीमा चिनी प्रतिकेजी १५ रुपैयाँसम्म बढेको छ । सरकारको गैरजिम्मेवारपन र कमजोरीका कारण उपभोक्ता मारमा परिरहेको उपभोक्ता अधिकारकर्मी माधव तिम्सिना बताउनुहुन्छ ।
मूल्य वृद्धि नियन्त्रणका लागि बजार अनुगमन महत्वपुर्ण कडी हो । तर यतिबेला अनुगमनकारी निकाय मौन रहँदा र सम्बन्धित मन्त्रालय समेत मन्त्री विहिन बन्नुले सरकार उपभोक्ता प्रति जिम्मेवार बन्न नसकेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्