२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


होडिङ बोर्डले कुरुप बन्यो बागलुङ प्रवेशद्वार


195
Shares

बागलुङ, फागुन ८ । मालढुङ्गा बागलुङको प्रवेशद्वार हो । जहाँबाट दैनिक हजारौँ मानिस सदरमुकाम भित्रिने र बाहिरिने गर्दछन् । कालीगण्डकी नदी पार गरेर बागलुङ प्रवेश गर्नासाथ प्रवेशद्वार र त्यस वरपरका भित्ताहरु अव्यवस्थितक रुपमा व्यावसायिक तथा विभिन्न प्रचारात्मक किसिमका होडिङ बोर्डहरुले भरिएका छन् । अस्तव्यस्त रुपमा टाँगिएका होडिङ बोर्डले प्रवेशद्वार नै कुरुप बन्न पुगेको छ ।

बागलुङ कला संस्कृति, धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण जिल्ला मानिन्छ । प्रवेशद्वारमा जिल्लाको पहिचानसँग जोडिएका कुनै पनि किसिमका बोर्डहरु राखिएका छैनन् । प्रहरी चेक पोस्ट पट्टीका भित्ताहरुमा ठूला–ठूला फलामका रडहरुमा टाँगिएका बोर्डहरु सबै व्यवसायिक प्रचारका छन् । यस्ता बोर्डहरुले प्रवेशद्वारको शोभा नै घटाइदिएका छन् ।

पहिचानसँग जोडिएका बोर्डहरु राख्नुको सट्टा मदिरा कम्पनीका बोर्ड तथा निजी व्यवसायका बोर्डले आतिथिको स्वागत गरिरहेका छन् । केही व्यवसायीहरुले प्रवेशद्वारसँगै जोडेर होडिङ बोर्ड राखेका छन् । तर कला, संस्कृति र पर्यटन सम्बन्धी कुनै पनि बोर्डहरु त्यहाँ देख्न पाइँदैन । सम्बन्धित निकायले यस्ता अव्यवस्थित रुपमा राखिएका बोर्डहरुलाई हटाउन तथा व्यवस्थापन गर्न सकिएको छैन ।
यस्ता अव्यवस्थित रुपमा टाँगिएका होडिङ बोर्डहरु कि सही रुपमा व्यवस्थापन गर्नु पर्छ की सम्बन्धित निकायले हटाउनु पर्छ । प्रवेशद्वार अगाडीनै केही च्यातिएका, केही पुराना भएका बोर्डहरु धेरै छन् ।

पुराना भएका तथा च्यातिएका बोर्डहरुले त्यस क्षेत्रको स्वभानै घटाएको छ । तर सम्बन्धित व्यवसायीहरुले पनि पुराना र च्यातिएका बोर्डहरु समेत फेरेका छैनन् । पाहुना स्वागतका लागि लथालिङ्ग रुपमा राखिएका बोर्डले स्वागतको सट्टा गिज्जाई रहेको छ । होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले व्यवसायीहरुले आफ्नो पहिचानको लागि प्रवेशद्वार आसपासमा बोर्डहरु राखेको भन्दै सम्बन्धित निकायले त्यसलाई व्यवस्थित गर्नु पर्ने बताउनुभयो ।

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले प्रदेशद्वारको सौन्दर्यकरणका लागि काम गर्ने योजना बनाएको तर मध्यपहाडी लोकमार्ग विस्तार हुँदा बोर्डहरु लोकमार्ग कार्यालयलेनै व्यवस्थापन गर्ने भनेपछि नगरपालिकाले नगरेको बताउनुभयो ।

जिल्लाको पहिचान झल्कने ठाउँलाई व्यक्तिले व्यवसयाको प्रचार स्थल बनाएका छन् । प्रवेशद्वारमा अव्यवस्थित रुपमा राखिएका होडिङ बोर्ड हटाई जिल्लाको पहिचान बोकेका धार्मिक तथा पर्यटकीय क्षेत्र, कला संस्कृतिको प्रचारात्मक बोर्डहरु राख्ने तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।