७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पछाडि सवार युवती घाइते


26
Shares

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार युवती घाइते भएकी छन् ।

सोमबार दिउँसो ३ बजेतिर फुलजोरतर्फबाट आइरहेको प्रदेश २–०३–००६ प १२० नम्बरको मोटरसाइकललाई नारायणघाटबाट विराटनगरका लागि छुटेको ना ५ ख १५६१ नम्बरको बसले रानिगन्ज चोकमा ठक्कर दिँदा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१, नवलपुरका २२ वर्षीय निरज उप्रेतीको ज्यान गएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका उप्रेतीलाई रानीगञ्जमा सामान्य उपचारपश्चात थप उपचारका लागि गण्डक अस्पताल वीरगन्ज पुर्याइएकोमा साँझ सवा ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार लालबन्दी नगरपालिका–७, बस्ने २२ वर्षीया लक्ष्मी विकको भने गण्डक अस्पतालमै उपचार चलिरहेको छ । दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई नियन्त्रणमा लिइएको लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।