१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


युक्रेनमा रुसी हस्तक्षेप लज्जास्पद : अमेरिका


299
Shares

काठमाडौं । युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई अमेरिकाले लज्जास्पद भन्दै आपत्ति जनाएको छ ।

युक्रेनी समकक्षीसँगको टेलिफोन वार्तापछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आफूसमर्थित पृथकतावादीले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी कदम लज्जास्पद भएको टिप्पणी गर्नुभएको हो ।

रूसी कदमको भत्सर्ना गर्दै ब्लिन्केनले अमेरिका युक्रेनको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैविषयमा छलफल गर्न बसेको संयुक्त राष्ट्र संघ सुरक्षा परिषद बैठकमा पनि अमेरिकी प्रतिनिधिले युक्रेनमा रूसी सेना शान्ति सैनिकका रूपमा पठाउने पुटिनको निर्देशन औचित्यहीन भएको बताएका थिए ।

पुटिनले सोमबार रूस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै त्यहाँ रूसी सैनिक पठाउन आदेश दिनुभएको थियो । टेलिभिजन सम्बोधनमा पुटिनले पूर्वी युक्रेनी क्षेत्र डोनेस्क र लुहान्स्कलाई छुट्टै देशको मान्यता दिने र उनीहरुसँग कूटनीतिक सम्बन्ध गाँस्ने घोषणा गर्नुभएको हो ।

पुटिनले युक्रेनको छुट्टै इतिहास नरहेको र रुसी अभिन्न अंग भएको बताउनुभयो ।यसैबीच, सुरक्षा परिषदको बैठकमा पश्चिमा राष्ट्रले एक स्वरमा रुसको आलोचना गर्दै दुई बिखण्डनवादी क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता प्रदान दिई सैनिक तैनाथ गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको टिप्पणी गरेका हुन् ।

रुसी गतिविधिले युरोपमा दोस्रो विश्वयुद्ध यताकै ठूलो युद्धको जोखिम बढाएको भन्दै उनीहरुले ठूलो मानवीय क्षति हुनसक्ने औंल्याए । बैठकमा अमेरिका, फ्रान्स र बेलायतका प्रतिनिधिले रुसी कदमको आलोचना गरे भने जर्मनी, चीन, आयरल्याण्ड, भारत, युएई, केन्या, घानालगायतले रुसलाई शान्तिको मार्ग रोज्न सुझाव दिए ।

अमेरिका, बेलायत, क्यानडा, फ्रान्ससहितका देश र युरोपियन युनियनले भने रुसमाथि कडा प्रतिबन्धको घोषणा गर्ने तयारी पनि गरेका छन् ।