
बागलुङ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकामा शिक्षा,स्वास्थ्य र यातायात लगायतका क्षेत्रमा क्रमिक रुपमा सुधार हुँदै आएकोछ । गाउँपालिका विकासका पूर्वाधारका हिसाबले पछाडि परेको थियो ।
पछिल्लो समय सबै क्षेत्रमा शिक्षा,स्वास्थ्य र यातायात लगायतका क्षेत्रमा सुधार हुँदै आएकोछ । हाल शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यले सो गाउँपालिकाका विद्यालयमा इन्टरनेट सेवा समेत विस्तार गरिएको छ ।
केही वर्ष अगाडिसम्म तमानखोलाकाका विद्यालयहरु जीर्ण थिए । विद्यार्थीहरु भुइँमा धूलोमै बसेर पढ्न बाध्य थिए । खानेपानी र शौचालयको समेत उस्तै समस्या थियो । नजिक विद्यालयहरु थिएनन् । विद्यार्थीलाई इन्टरनेटको विषयमा पाठ्यपुस्तकमा पढेपनि व्यवहारिक ज्ञान थिएन ।
तर अहिले गाउँपालिकाले माध्यमिक तहका सबै विद्यालयहरुमा इन्टरनेट विस्तार गरेकोछ । गाउँपालिकामा ३ वटा माध्यमिक विद्यालय छन् । तमानखोला गाउँपलिका वडा नम्बर ३ को धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नम्बर ५ को शान्ति माध्यमिक विद्यालय र वडा नम्बर १ को जन जागृति माध्यमिक विद्यालयमा इन्टरनेट जडान भएकोछ ।
विद्यालयमा इन्टरनेट जडानपछि शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बन्दै गए पनि केही समयदेखि अवरुद्ध हुँदा शिक्षण सिकाईमा समस्या भएको जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भबिन्द्र पुनले बताउनुभयो ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलला बुढा मगरले सूचना प्रविधिको विकाससँगै शिक्षालाई पनि प्रविधिमैत्री बनाउनका लागि विद्यालयहरुमा इन्टरनेट विस्तार गर्न थालेको बताउनुभयो ।
तमानखोला गाउँपालिकामा कुल २४ वटा विद्यालय छन् । जसमध्ये माध्यमिक विद्यालय ३ वटा, आधारभूत विद्यालय नौ वटा र प्राथमिक विद्यालय १२ वटा रहेका छन् ।
बागलुङका सुगमकै विद्यालयहरुमा इन्टरनेटको पहुँच छैन तर दुर्गम तमानखोलाले गाउँका विद्यालयहरुमा पनि विस्तार गर्ने कामको सुरुवात गरेको छ, जुन स्रहानीय छ ।
प्रतिक्रिया दिनुहोस्