
जनकपुरधाम । कार्यकारिणी समितिका सदस्य वृशेषचन्द्र लाल र तात्कालिन संविधानसभा सदस्य डा. विजय कुमार सिंहसहित एक सयभन्दा बढी कार्यकर्ताले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका छन् ।
पार्टी परित्याग गर्नेहरूमा तात्कालिन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का पूर्व केन्द्रिय सदस्यहरू र जिल्ला एवं स्थानीय तहका नेताहरू रहेका छन् । उनीहरू तराई मधेश लोकतान्त्रिक पार्टी (लमलोपा) प्रवेशको तयारीमा रहेको बताइएको छ ।
फागुन १५ गते तमलोपाको राष्ट्रिय सम्मेलन गरी पार्टीका अध्यक्षमा वृशेषचन्द्र लाल र वरिष्ठ नेतामा डा. विजय कुमार सिंह चयन गरिने लालनिकट स्रोतले जनाएको छ ।
लोसपा परित्याग र पार्टी प्रवेश कार्यक्रमको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता लालले मधेश र मधेशीको मुद्दा दलहरूले छाडेका हुनाले आफूहरू सो पार्टी परित्याग गर्न बाध्य भएको बताउनुभयो ।
त्यसैगरी अर्कानेता डा. सिंहले तमलोपालाई क्षेत्रीय पार्टीको रूपमा विकसित गरिने र क्षेत्रीय पार्टीहरू जीवित रहेको खण्डमा मात्र संघीयता मजबुत हुने सोचका साथ तमलोपामा आफूहरू प्रवेश गरेको बताउनुभयो ।
‘मधेशका राजनीतिक दलहरू जनताको विद्रोहपूर्ण संघर्ष र बलिदानलाई सम्बोधन गर्न सकेन,’ उहाँले भन्नुभयो, ‘त्यसैले जनताको संघर्ष र बलिदानलाई सम्बोधन गर्न वृहत राजनीतिक शक्तिको निर्माण गर्ने तमलोपाको मुख्य एजेण्डा हुनेछ ।’
मधेशको चाहना र आवश्यकता अनुसार तमलोपालाई बलियो बनाउने र यस क्षेत्रको भूमि, इतिहास, भाषा, संस्कृति र जीवनशैलीको उत्थानका लागि कार्य गर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्