
काठमाडौं, फागुन १० । बाँकेको डुडुवा गाउँपालिका प्रमुखले नै ऐलानी जग्गामा आफ्ना निकट मान्छे बस्न लगाएपछि विवाद उत्पन्न भएको छ ।
सरकारी जग्गाको संरक्षण गरी व्यवस्थापन गर्नु पर्नेमा यसरी मानिस बसाल्न थालेपछि डुडुवा गाउँपालिका वडा नं. ६ मा करीब २ विगाहा जग्गा कब्जा भएको छ । कालाबन्जरस्थित ऐलानी जग्गामा गिद्धेनजर परेपछि अहिले २ विगाहा जग्गा भूमिहीन तथा सुकुम्बासीका नामबाट कब्जा भएको छ । सरकारी स्तरबाट ऐलानी जग्गाको खोजी गरी संरक्षण गर्नुपर्नेमा अस्थायी व्यवस्थापनको नाममा जमिन भएका र अन्य मानिसलाई बसाल्न खोज्नुले सरकारी सम्पतिको दुरुपयोग भएको छ ।
डुडुवा गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले अस्थायी प्रबन्धका लागि छरिएर रहेका मानिसलाई केही समयका लागि बस्न दिएको बताए पनि सोही गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्र भने सरकारी जग्गा कसैको आदेशमा भूमिहीन सुकुम्बासीका नाममा कब्जा हुनु दुर्भाग्यभएको बताउनुहुन्छ । उहाँले यसरी जमिन कब्जा भएपनि आफूहरुले स्थानीय प्रशासन र प्रहरीमा जानकारी दिएपनि सुनुवाई नभएको गुनासो गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय, बाँकेले भने केही क्षेत्रमा कानून विपरित सार्वजनिक सम्पत्ति व्यक्तिलाई वितरण गर्ने काम गरेको पाइएको उल्लेख गर्दै त्यसको संरक्षण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा वितरण गर्न स्थानीय तहहरुले नमिल्ने कानूनी व्यवस्था रहेकाले त्यसको संरक्षण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी खत्रीले सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा वितरण गर्ने अधिकार संघीय सरकारको मात्रै रहेको पनि स्मरण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्