
काठमाडौं, फागुन १२ । नेपालले युक्रेनमाथि रुसले गरेको सैन्य कारबाहीको विरोध गरेको छ ।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै कुनै पनि अवस्थामा एउटा सर्वभौम राष्ट्रविरुद्ध गरिने शक्ति प्रयोगको विपक्षमा नेपाल रहने जनाएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव चर्किन नदिन भनिएको छ । ‘नेपाल सरकारले युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको भन्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव कम गर्न अपिल गरेको छ । कुनै पनि मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता अक्षुण रहेको भन्दै यसको पूर्ण सम्मान हुनुपर्ने नेपालको भनाइ छ । ‘संयुक्त राष्ट्रसंघको सदस्य भएको हुँदा राष्ट्रसंघको बडापत्रमा उल्लिखित सार्वभौमिकता र भौगोलिक अखण्डताको सिद्धान्त अक्षुण रहेको र यसको पूर्ण पालना हुनुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।
साथै, युक्रेनको डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिने कार्य राष्ट्रसंघको बडा पत्रविपरीत हुने भन्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको नेपालले विरोध गर्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्