
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमसीसीको सन्दर्भमा सत्तापक्षको एक राय नआएसम्म प्रतिपक्षले नबोल्ने बताउनुभएको छ ।
शनिबार पार्टीअध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्रीसहित कांग्रेसका शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै महासचिव पोखरेलले गठबन्धन सरकारको एउटा राय आउनुपर्नेमा जोड दिनुभयो ।
‘गठबन्धनको तर्फबाट एउटा दृष्टिकोण के हो,’ उहाँले भन्नुभयो, ‘सरकारको दृष्टिकोण एक नभएसम्म प्रतिपक्षले बोलिरहनुपर्छ भन्ने छैन ।’
छलफलमा एमालेले आफूहरुले राखेका माग सम्बोधन नभएसम्म संसदको अवरोधन नहटाउने अडान कायमै राखेको छ । संसदमा प्रवेश गर्ने वातावरण सरकारले बनाएको खण्डमा आफूहरू स्पष्ट धारणसहित संसदमा उपस्थित हुने महासचिव पोखरेलको भनाइ छ ।
‘सभामुखको भूमिकालाई लिएर हामीले जारी राखेको अवरोध हटाउन सत्तापक्ष क्रियाशील हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘संसदमा प्रवेश गर्ने वातावरण बनाउनुहोस्, वातावरण बनेको दिनमा हामी स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत हुन्छौं ।’
महासचिव पोखरेलले मुलुकको लोकतान्त्रिक भविष्य र राष्ट्रिय हितका सम्बन्धमा दुई पार्टीबीचको छलफललाई निरन्तर कायम राख्ने सहमति भएको जानकारी दिनुभयो ।
अमेरिकाले एमसीसीको बारे निर्णय दिन सोमबारसम्मको समयसीमा दिएको अवस्था नेपाली कांग्रेसले यसलाई अनुमोदन गर्नका लागि सत्तापक्ष र प्रतिपक्षसँगको संवादलाई तीव्रता दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्