१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संकटमा टाँगा व्यवसाय


52
Shares

काठमाडौं । नेपालगञ्जको चिनारीको रुपमा रहेको टाँगा व्यवसाय संकटमा परेको छ ।

केही समय अघि अतिनै लोकप्रिय मानिएको टाँगा व्यवसाय संकटमा परेको हो । प्रविधिको विकास र समय परिवर्तनका कारण मानिसहरुले थप सुविधा र समय बचत गराउन खोज्न थालेपछि टाँगा व्यवसाय बिस्तारै संकटमा परेको हो । करिब १ दशक पहिला टाँगालाई नेपालगञ्जको मुख्य सवारी साधनको रुपमा लिइन्थ्यो । मानिसहरु एक ठाँउबाट अर्को ठाँउमा जान र सामान ओसारपसार गर्नका लागि घोडाबाट चलाउने टाँगाको प्रयोग गरिन्थ्यो ।

नेपालगञ्जभित्र मात्रै नभएर नेपालगञ्जदेखि छिमेकी देश भारत र छिमेकी जिल्लासम्म मानिसहरु टाँगामा यात्रा गर्ने गर्थे । खासगरी कस्गर समुदायका मानिसहरुले टाँगालाई मुख्य पेशाको रुपमा लिई जीवनयापन गर्दै आइरहेका थिए । उनीहरु दिनभरी टाँगा चलाएर अर्थोपार्जन गर्दै दैनिक जीवन गुजारा चलाउने गरेका थिए । तर समय परिर्वतनसँगै प्राविधिक विकासपछि छोटो दुरीको रुपमा ई–रिक्सा सञ्चालनमा आएपछि टाँगा विस्थापित हुन पुगेको छ । रिक्सा नचल्दा टाँगाबाट दैनिक ३ हजार रुपैयाँसम्म कमाइ हुने गरेपनि अहिले अपेक्षित कमाइ हुन नसकेको टाँगा चालक साजन कस्गर बताउनुहुन्छ ।

पहिला टाँगा चलाएर गुजारा गर्दै आइरहेका मानिसहरुले अहिले भने बुग्गी सञ्चालन गरी समान ढुवानी गर्ने गरेका कस्गरको भनाई छ । उहाँले हाल दिनभर सिमेन्ट ढुवानी गरेर दैनिक १ हजारदेखि १२ सय रुपैयाँसम्म कमाउने बताउनुभयो । टाँगा चालक साबिर अलीले टाँगा बिस्थापित भइसकेको बताउनुभयो । काम कम आउने हुँदा टाँगाबाट जीविकोपार्जन गर्न समस्या पर्ने गरेको उनीहरुको गुनासो छ । यता, नेपालगञ्ज उपमहानगरपालिकाले भने टाँगा सञ्चालनलाई व्यवस्थित बनाउनका लागि काम गरिरहेको बताएको छ ।