१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्ता गठबन्धनबाट बाहिरियो जनमोर्चा


663
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्तारुढ गठबन्धनबाट बाहिरिएको भएको छ ।

आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै जनमोर्चा गठबन्धनबाट बाहिरिएको हो ।

सोमबार बसेकोे पार्टीको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । बैठकपछि अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी प्रेस विज्ञप्तिमा संसद्बाट षड्यन्त्रमूलत तरिकाले एमसीसी पास गरी देशको सार्वभौमिकता र अखण्डतामाथि आँच पुर्‍याएको उल्लेख छ ।

केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध पाँचदलीय गठबन्धनको निर्माण र निरन्तरतामा राजमोले जोड दिए पनि गठबन्धनका ४ पार्टीले एमसीसी पास गर्दै साम्राज्यवादीको दलाली र पृष्ठपोषण गरेकाले गठबन्धनको औचित्य समाप्त भएको केसीले बताउनु भएको छ ।

त्यस्तै, एमसीसी अनुमोदन गर्दा मतविभाजन नगरी ध्वनि मतको सहारा लिएकोमा पनि राजमोको आपत्ति छ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौतामा अल्पमत बहुमतको विधिअनुसार मत विभाजन गरेको भए अनुमोदन गर्न सरकारलाई मुस्किल पर्ने भएको हुनाले ध्वनी मतको सहारा लिएर अनुमोदन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एमसीसी सम्झौतासँगै व्याख्यात्मक घोषणा पारित भए पनि त्यसलाई राजमोले औचित्यहीन बताएको छ । माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक प्रस्तावमा कथित सहमति जनाउने कुरा आफ्ना कार्यकर्ताहरूको एमसीसीविरुद्धको आक्रोशलाई मत्थर पार्न गरेको नौटङ्की मात्र भएको पनि राजमोको आरोप छ ।