
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको विरोधमा प्रदर्शनकारी तोडफोडमा उत्रिएसँगै सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरिएको छ ।
प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश जारी गरेको हो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोधी प्रदर्शन चर्किएको थियो ।
प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार साँझ सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
प्रदर्शन नरोकिएको र तोडफोड हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको जनाइएको छ ।
बन्दकर्ताले दलहरुको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
प्रशासनका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू जारी छ ।

प्रतिक्रिया दिनुहोस्