९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


त्रिभुवन विमानस्थलमा कडाइ, आफन्तको स्वागत र विदाइमा नआउन अपील


0
Shares

काठमाडौं, फागुन १९ । नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक बाहेक अरु अवस्थामा प्रवेश नगर्न आग्रह गरेको छ ।

विमानस्थलले उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ बन्द गरिएको पनि प्राधिकरणले निकालेको सूचनामा जनाइएको छ । प्राधिकरणले आफन्तजनको स्वागत तथा विदाइमा आउनेहरुलाई पनि अत्यावश्यक भएमा मात्र आउन भनेको छ ।

महाप्रबन्धक देवेन्द्र केसीले जारी गरेको विज्ञप्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहनका लागि विभिन्न सतर्कताहरु अपनाइएकोमा अहिले उक्त संक्रमण फैलिन सक्ने सम्भावना देखिएको र डब्लुएचओले पनि नेपाललाई जोखिममा राखेकाले अत्यावश्यक बाहेक विमानस्थलमा प्रवेश नगर्न आग्रह गरिएको छ ।

‘यात्रुहरूलाई स्वागत तथा बिदाई गर्न आउनु हुने आफन्तजन लगायत अन्य महानुभावलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिनु हुन र अत्यावश्यक काममा आउनु हुने सबैलाई मास्क प्रयोग गरिदिनुहुन अनुरोध छ’ प्राधिकरणले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले आइतबार मात्र संक्रमण फैलन सक्ने भन्दै सार्वजनिक स्थानमा भीडभाड नगर्न आग्रह गरेको थियो । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेपछि सरकारले पनि कडाई गर्न थालेको हो ।