
काठमाडौं । आज महाशिवरात्री पर्व । विश्वभरका हिन्दू धर्मालम्वीहरु आज देवाधिदेव महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदैछन् ।
पशुपतिनाथसहित देशभरका शिवालयहरुमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गर्न बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिनलाई शिव प्रादुर्भाव भएको दिनको रुपमा मनाउने गरिन्छ ।
मध्यरातमा चतुर्दशी परेको दिन महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । शिवको प्रादुर्भाव भएको रातलाई नै शिवरात्री भनिन्छ ।
शिवका रुद्र, भैरव, महादेव, महेश्वर, शंकरलगायत हजार नाम छन् । जसलाई शिव सहस्रनाम भनिन्छ । महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।
कोरोना महामारीले लगातार दुई वर्ष प्रभावित भएको शिवरात्री पर्वमा यसपटक भने पाशुपत क्षेत्रमा विशेष रौनक देखिएको छ ।
आज झण्डै ८ देखि १० लाख भक्तजन पुशपति पुग्ने पशुपति क्षेत्र विकास कोषको अनुमान छ । शिवलाई देवताका पनि देवता मानिने भएकाले महादेव भनिएको हो । यस वर्ष पशुपति क्षेत्रमा झण्डै ३५ सय साधु तथा नागा बाबाहरु आइपुगेका छन् । शिवरात्रिको विकृतिस्वरुप गाँजा, भाङजस्ता नशालु पदार्थ सेवन गर्ने परम्परा पनि समाजमा बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्