
टासी ल्हमु शेर्पा सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिकाको कार्यबाहक अध्यक्ष हुनुहुन्छ । उहाँ २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सो गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७७ असारमा एमालेकै तर्फबाट निर्वाचित गाउँ पालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएपछि टासीले कार्यबाहक अध्यक्षको पनि जिम्मेवारी सम्हाल्दै आउनुभएको हो । सरकारले २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । पहिलो कार्यकाल सकिन लागेको अवस्थामा उहाँसंग स्थानीय तहमा ५ वर्षको अनुभव,गाउँपालिकाले गरेका काम,समस्या लगायतका विषयमा इमेजखबरले गरेको कुराकानीको सम्पादित अंश :
तपाईं स्थानीय तहमा जनप्रतिनिधिका रुपमा निर्वाचित भएको यो ५ वर्षको अवधिमा कस्तो अनुभव रह्यो ?
स्थानीय तहको २०७४ को निर्वाचन मार्फत जनप्रतिनिधि भइसकेपछि यो बीचको अनुभब मेरो छुट्टै रह्यो । यो ५ वर्षको समयमा ठूलो अनुभव पाएको छु । स्थानीय तह संचालन सम्बन्धी ऐन नियम,कानून,संविधान लगायत धेरै कुराहरु अध्ययन गर्ने मौका पाइयो । राजनीतिमा आउनु अघि एउटा घर परिवारको जिम्मेवारीमा समय बितिरहेको अवस्थामा निर्वाचित जनप्रतिनिधि भएर आएपछि एउटा सिंगो गाउँपालिकाको जिम्मेवारी बहन गर्नुपरेको छ । मैले यसलाई सुनौलो अवसरका रुपमा लिएको छु । निर्वाचित भएर आएको शुरुवाती दिनदेखि अहिलेको अवस्थामा आइपुग्दा विभिन्न अनुभव संगाल्ने अवसर पाए ।
तपाईंको गाउँपालिकाका मुख्य समस्याहरु के के हुन् ?
समस्या भन्दा पनि हाम्रा आवश्यकता धेरै छन् । भौगोलिक हिसावमा पनि भन्नुपर्दा हाम्रो गाँउपालिकाको भूगोल निकै ठूलो छ । लगभग सोलुखुम्बुको आधा भू–भाग यो गाउँ पालिकालेनै ओगटेको छ । यहाँको समस्या हेर्ने हो भने आधारभुत आवश्यकताको कमिनै मुख्य समस्याको रुपमा रहेको छ । हाम्रोमा एउटा वडाबाट अर्को वडामा जानलाई झण्डै हप्तादिन लाग्न सक्ने अवस्था छ । शुरुवाती दिनमा ती समस्याहरु सम्वन्धित निकायमा पुर्याउन पनि हामीले सकेको अवस्था थिएन । तर अहिले विगतको तुलनामा जनप्रतिनिधि आएपछि सहज भएको छ । पर्यटकीय दृष्टिले पनि यो गाउँपालिका निकै महत्वपूर्ण छ । पर्यटकीय विकासमा पनि हामीले ध्यान दिइरहेका छौ ।
तपाई निर्वाचित भएर आइसकेपछि गाउँपालिकामा के कस्ता कामहरु भएका छन् ?
हामी निर्वाचित भएर आएपछि हामीले सबैभन्दा पहिला हाम्रो गाउँपालिकाको आधारभूत आवश्यकतालाई जोड दियौं । त्यसपछि पूर्वाधारका कुराहरुमा जोड दियौं । स्वास्थ्य,शिक्षा,खानेपानी बाटोघाटो र सडकलाई प्राथमिकतामा राखेर काम गर्यौं ।२०७२ को भुकम्पले शिक्षा,स्वास्थ्य लगायत धार्मिक र पुरातात्विक संरचनाहरुमा क्षति पुर्याएको थियो । हामी ती क्षतिग्रस्त संरचनाहरुको निर्माणमा लाग्यौ । हामी निर्वाचित भएर आइसकेपछि बिद्यालय भवनहरुको पुनः निर्माणमा प्राथमिकता दियौं । त्यसैगरी धार्मिक मठ मन्दिर,गुम्बाहरुको पनि पुनः निर्माणको काम शुरु गर्यौं । देशका अरु स्थानीय तहको तुलनामा भौगोलिक विकटताका कारण खुम्बु पासाङ ल्हमु गाउँ पालिकामा बजेट ४ गुणा बढी लाग्ने गर्छ । हाम्रोमा सडक संजाल नजोडिएकाले ढुवानी खर्च धेरै महंगो छ ।

त्यहि कुरालाई मध्यनजर गरेर हामीले गाउँपालिकालाई सडक संजालसंग जोड्न महत्वपूर्ण छ भनेर प्रथामिकता दियौं । केन्द्र र प्रदेश सरकारले दिएको बजेटले मात्रै हामीलाई सडक बनाउन पर्याप्त थिएन । त्यसपछि गाँउपालिका आफैले धेरै भन्दा धेरै बजेट लगानी गरेर गाँउ पालिकाको सिमानासम्म सडक ल्याउन बजेटको व्यवस्था गर्यौं । यो निकै चुनौतीपूर्ण काम थियो । हामीले सडक ल्याउन अरु गाउँ पालिकामा पनि बजेट हाल्नु पर्यो किनकि अरु गाउँपालिकासंग सहकार्य गरेर मात्रै हामीले सडक ल्याउन सक्थ्यौं । हामीले दुधकोशी नदीमा यातायात संचालनका लागि पुल बनाएका छौं । त्यसैगरी स्थानीयलाई आवत जावतका लागि धेरै स्थानमा झोलुङगे पुलहरु पनि बनाएका छौं । सडक संजालले छोएपछि अहिले काम गर्न निकै सहज भएको छ । केही स्थानबाहेक सबैतिर स्वच्छ,सफा र शुद्ध पिउने पानीको व्यवस्था भइसकेको छ । यस्तै अग्नि नियन्त्रक प्रणाली पनि जडान गरेका छौं । अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरुको निर्माण भएको छ ।
टेलिफोन सेवालाई सहज बनाउन अप्टिकल फाइबर बिच्छ्याउने काम भइरहेको छ । त्यतिमात्रै होइन हामीले पर्यटकहरुका लागि विभिन्न सेवा सुविधाका लागि काम गरेका छौछौं ।
तपाइँको गाउँपालिका पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण मानिन्छ, पर्यटकीय क्षेत्रमा के कस्ता कामहरु भएका छन त ?
हो हाम्रो गाउँपालिका पर्यटकीय हिसावले महत्वपूर्ण मानिन्छ । हामीले पर्यटकहरुका लागि जतिसक्दो बढी सेवा सुविधा दिने प्रयास गरेका छौं । विगतमा ट्रेकिङ गाइडको तालिम लिन काठमाडौं धाउनु पर्ने बाध्यता थियो । तर हामी निर्वाचित भएर आएपछि पालिकामै निःशुल्क तालिम दिने व्यवस्था गर्यौ ।
ठाउँ–ठाउँमा पर्यटन पदमार्ग बनाएका छौं । पर्यटकहरुका लागि सार्वजनिक शौचालयको निर्माण जस्ता कुराहरुमा हामीले ध्यान दिएका छौ । धेरै स्थानमा शौंचालय बनाएका छौं । पर्यटकहरु आउँदा जाँदा विश्वमा नेपालको बारे राम्रो शन्देश लिएर जाउन भनेर हामीले प्रयास गरिरहेका छौं ।
विश्वको सर्वाेच्च शिखरसगरमाथा लगायत हिमालहरुको सरसफाईमा पनि हामीले काम गरिसकेका छौं । विभिन्न संघ संस्थाहरुसँग साझेदारी गरेर सरसफाई अभियानलाई सफलता पूर्वक सम्पन्न गरेका थियौं ।
पर्यटकहरुका लागि केही समस्याहरु पनि छन् काठमाडौबाट लुक्ला सम्मको लागि हवाइ उडान पर्याप्त छैन् । ठूला विमान संचालनका लागि लुक्ला विमान स्थलको स्तरोन्नती गर्नुपर्ने अवस्था छ । साना जहाजमा पर्याप्त सीट संख्या नहुँदा पर्यटकहरु भनेको बेलामा आउन र जान सकिरहेका छैनन् । लुक्ला विमान स्थल विश्वमै परिचित छ ।
त्यसैगरी पर्यटकहरुका लागि इन्टरनेट,खानेपानी र सौचालयहरुको पर्याप्त छैनन् । पर्यटकहरुका लागि जुन कुराहरुको आवश्यकता हो त्यो सोचेजति नहुँदा केही समस्याहरु छन् । पर्यटकहरुलाई खाने बस्ने लगायतको यथोचित सुविधाको प्रवन्ध गर्न सकेमा स्थानीय उत्पादनहरुले पनि बजार पाउन सक्छन् ।
हामीले हाम्रो स्रोत साधनले भ्याएसम्म काम त गरिरहेका छौ । तर पर्यटन क्षेत्रको विकासका लागि सरकारले छुट्याएको बजेट अनुसार काम भने सम्बन्धित निकायले गर्न सकेको छैन् । स्थानीय तहसंग समन्वय गरेर काम हुन सके त्यो प्रभावकारी हुन्छ । हाम्रो गाउँपालिका चिसो स्थानमा भएकाले पर्यटकहरुलाई त्यही अनुसार सुविधाको खाँचो छ ।
स्थानीय निर्वाचनका बेला गाउँ गाउँमा सिंहदरवार भनेर नारा लगाइएको थियो । के साँच्चिकै तपाईको गाउँ पालिकाका जनताले त्यो महसुश गरेका छन त ? उनीहरुका काम सहज रुपमा भएका छन त ?
जुन रुपमा गाउँ–गाउँमा सिहंदरबार भनिएको थियो, त्यो मेरो गाउँमा पुगेको छ । पहिलाको तुलनामा हेर्ने हो भने जनताले स्थानीय सरकारसंग आफ्ना समस्याहरु, आवश्यकताहरु र गुनासोहरुलाई पोख्न पाएका छन् । पहिला आफ्ना समस्या र गुनासोलाई कहाँ भन्ने भनेर समस्या थियो । जस्तै कोरोना महामारीका कारण कतिपय यहाँका स्थानीयहरु काठमाडौं लगायत विभिन्न स्थानमा अलपत्र परेका थिए ।
उनीहरुलाई हामीले सवारी साधन र हवाई जहाज मार्फत उद्धार गरेर आ–आफ्ना गन्तब्यसम्म ल्याउने व्यवस्था गर्यौ । केन्द्र सरकार,प्रदेश सरकार लगायत जिल्ला प्रशाशनसंग समन्वय गरेर ती कामहरु भए । यदि स्थानीय सरकार नभएको भए त्यो संभव थिएन । त्यस्तै हामीले अव जनतालाई सुविधा दिन कागजबिहीन काम गर्न स्मार्ट कार्ड मार्फत काम गर्ने वातावरण बनाउँदै छौं ।
सवै वडामा विद्युतीय प्रणाली मार्फत काम गरिरहेका छौं । जेष्ठ नागरिक लगायत गाउँपालिका भित्र रहेर विभिन्न विधामा योगदान पुर्याउनेलाई हामीले सम्मान गर्ने कामको शुरुवात गरेका छौं । अवस्था हेरेर चिसोबाट जोगाउन स्थानीयलाई न्यानो कपडा वितरण गरेका छौं ।
विगतमा जनप्रतिनिधिहरु विभिन्न विकास योजनाहरु माग्न सिंहदरवार नै धाउनुपर्ने अवस्था थियो । अहिले त्यसको अन्त्य भएको छकि छैन ?
यो भनेको योजनाको बजेटको आधारमा हुने गर्दछ । हामीले केन्द्र र प्रदेश सरकारबाट प्राप्त भएको अनुदान र गाँउपलिकाको आफ्नै स्रोतबाट भ्याएसम्मको कामहरुआफैंले निर्णय गरेर गरिरहेका छौ । यो अवस्थामा धाउनु परेको छैन । तर, हाम्रो स्रोत साधनले नभ्याउने खालका ठूला– ठूला विकास योजनाका कामहर गर्न सिंहदरवार धाउनु नै परेको छ । कुनै राम्रा योजना पारिदिनु पर्यो भनेर त केन्द्रमा भन्नै पर्यो नि । किनकि आफ्नो गाउँको विकास गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो ।
निर्वाचनका बेला तपाईले गरेका प्रतिवद्धताहरु कतिको पूरा गर्नु भयो त ?
हामीले स्थानीय तहको निर्वाचन ताका जुन प्रतिवद्धता व्यक्त गरेका थियौं,त्यो भन्दा पनि बढी कामहरु मेरो गाउँपालिकामा भएका छन् । हाम्रो घोषणा पत्रमा उल्लेख भएका बाहेकका विकास निर्माणका कामहरु पनि गरेर देखाएका छौं । आवश्यता अनुसारको बिकासका कार्यहरु गरि पनि रहेका छौं । विद्युतको केन्द्रीय प्रसारण लाइन हाम्रो गाउँपालिकासम्म जोड्नको लागि प्रयास गरिरहेका छौ । गाउँपालिकाको केन्द्र जोड्ने सडकको लागि काम हुँदै छ । त्यसका लागि टेण्डर समेत आव्हान गरिएको छ । विगतमा गाउँ पालिकाको कार्यालय भाडामा थियो । हामीले जग्गा खरीद गरेर आफ्नै भवन निर्माण गर्ने काम भएको छ । बस पार्क निर्माणका लागि १० रोपनी जग्गा खरीद गरेका छौं । विभिन्न वडा कार्यालयको लागि जग्गा खरीद र आफ्नै भवन निर्माणको काम भइरहेको छ ।
अब तपाइँको कार्यकाल सकिन लाग्यो ? यो ५ वर्षको अवधिमा स्थानीय तहमा तपाइँहरुलाई जुन अधिकार दिएको थियो, त्यो अधिकार तपाईले प्रयोग गर्न पाउनु भयो कि भएन ?
स्थानीय तहका जनप्रतिनिधिको अधिकारलाई संविधानमा जुन रुपले व्यवस्था गरिएको छ,त्यसमा मैले गाउँपालिकाको उपाध्यक्षको हैसियतमा बहन गर्नु पर्ने जिम्मेवारीलाई राम्रोसंग पूरा गरेको छु भन्ने मलाई लागेको छ ।
त्यसैगरी स्थानीय तह ऐन अन्र्तर्गत उपाध्यक्ष ले गर्नुपर्ने कामहरु स्पष्ट छ ।त्यसमा अधिकारको कुरा गर्दा मैले अधिकार राम्रोसँग उपयोग गरि जिम्बेवारीपूर्वक काम गरेको अनुभूति गरेको छु ।
तपाईं आफूले गरेको कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ? अनि तपाईंको कामप्रति यहाँका स्थानीय कतिको खुशी छन् ?
यहाँका स्थानीय जनताको सन्तुष्टि नै मेरो सन्तुष्टि हो । अझ धेरै कामहरु गर्न पाए आफ्नो गाउँपालिकालाई समुन्नत बनाउन सकिन्छकि भन्ने लाग्दोरहेछ । तर भनेजस्तो त्यति सजिलो छैन काम गर्नलाई । सुख दुःखका कुराहरु त भइरहेकै हुन्छन् । मलाई यहाँका जनताले एउटा महिला भएर पनि आफ्नो पारिवारिक जिम्मेवारीको भूमिका निभाएर पालिकामा पनि सक्रिय भएको देखेर राम्रै प्रतिक्रिया जनाएका छन् ।
स्थानीयहरु निकै खुशी भएका छन् । सबैलाई एकैचोटी खुशी बनाएर लैजाने काम सहज पनि छैन । मैले गरेको काम भएन भनेर प्रत्यक्ष रुपमा कसैले भनेका पनि छैनन् । त्यसकारण पनि स्थानीय खुशी छन् भन्ने लागेको छ ।
सरकारले २०७९ वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ, तपाईं फेरि उम्मेदवार बन्नुहुन्छ कि बन्नुहुन्न के छ बिचार ?
त्यस बारेमा अहिले केही सोचेको छैन । केही वर्ष अघि मेरो स्वास्थ्यमा समस्या आएको थियो । पहिला मेरो स्वास्थ्यलाई हेर्छु । यदि स्वास्थ्यले साथ दिएमा मात्रै उम्मेदवार बन्छु ।अर्को कुरा हामी अहिले आफ्ना योजना र कार्यक्रमहरु कसरी सम्पन्न गरेर यो गाउँपालिकालाई हरेक दृष्टिबाट राम्रो बनाउने भन्ने काममा व्यस्त छौं ।उम्मेदवारीतर्फ ध्यान दिएको छैन ।
तपाईंले अहिले कार्यवाहक अध्यक्षको पनि जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । तपाईलें यदि उम्मेदवार बन्ने मौका पाउनु भयो भने उपाध्यक्षमै चुनाव लड्नु हुन्छकि अध्यक्षमा ?
साँढे दुई वर्षको उपाध्यक्षको जिम्मेवारी लिएपछि त्यसपछि कार्यवाहक अध्यक्षको पनि कार्यभार सम्हाल्दै आइरहेको छु । यदि भोलि जिम्मेवारी आइपरेको खण्डमा दुबै पद सम्हाल्न सक्छु भन्ने लागेको छ ।
तपाईंले राजनीति र घर परिवारलाई एकैसाथ कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
खास कुरा के हो भने स्थानीय तहमा मेरो पहिलो अनुभव हो र स्थानीय स्तरका कामहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि त त्यति बुझिएको होइन । म मात्रै होइन सबैलाई त्यस्तै होनि । कहिले काँही पारिवारिक काममा रहँदा पनि स्थानीयले आफ्ना समस्याहरु सुनाउँछन् त्यसलाई पनि ध्यान दिनै पर्यो । किनकि स्थानीयले गुनासो गर्ने भनेकै आफ्ना जनप्रतिनिधिसंग हो । पारिवारिक जमघट परेको बेलामा समय अनुकुल हुनेगरि मिलाइरहेको छु । आफ्ना छोराछोरीका लागि प्रर्याप्त समय भने दिन सकिरहेको छैन् ।
यदि भोलि तपाईं फेरि निर्वाचित भएर आउनु भयो भने आफ्नो गाउँपालिकालाई अझ समृद्ध बनाउने योजनाहरु के कस्ता छन् ?
धेरै कुराहरु छन् । गाउँपालिकाको स्तरोन्नती गर्ने,ट्रयाक खोलिएका सडकलाई कालोपत्रे गर्ने योजना छ । त्यसैगरी सडक संजालले नछोएको माथिल्लो क्षेत्रमा मालसामान ढुवानीका लागि रोपवेको पहल गर्ने,गाउँपालिकाभित्र वातावरणमैत्री विद्युतीय सवारी साधनको अवधारणालाई विकास गर्ने जस्ता कुराहरु छन् ।
यस्तै सामाजिक सुरक्षाको अवधारणलाई अझ बलियो बनाउने,केन्द्रीय प्रसारण लाइन जोडेर पालिकाको सबै क्षेत्रमा विद्युतीकरण गर्ने लगायतका योजना छन् ।
–––
प्रतिक्रिया दिनुहोस्