
काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढेका मूल्यसूची पठाएको छ ।
आईओसीले पठाएको मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा, मट्टितेलमा १० रुपैयाँ ३० पैसा र हवाई इन्धनमा ३ रुपैयाँ ३२ पैसा बढेको नेपाल आयल निगमले जनाएको छ ।
अहिलेको स्थितिमा पेट्रोलमा २० रुपैयाँ ५२ पैसा, डिजेलमा १६ रुपैयाँ ८ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा रहेको छ ।
नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब ३ अर्ब ९ करोड घाटा हुने स्थिति देखिएको पनि निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चालू आर्थिक वर्ष २०७८/७९ को अहिलेसम्म निगमले करिव २८ अर्ब नोक्सानी व्यहोरिसकेको छ ।
रुस र युक्रेनबीच युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । एकपटक ४० डलर प्रतिब्यारेलमा आउने तेल अहिले १ सय डलर प्रतिब्यारेलको हाराहारीमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्