
काठमाडौं । जुम्लाका कृषि प्राविधिक स्याउ किसानका बगैँचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न बगैँचामा पुगेका छन् ।
प्राविधिकले बगैँचामै पुगेर स्याउको उत्पादन वृद्धि गर्नका लागि बगैँचा व्यवस्थापन र काँटछाँट सम्बन्धी ज्ञान किसानलाई सिकाइरहेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपर जोन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गंगाा पोखरेलले किसानलाई प्रविधिक सीपमूलक तालिमसमेत दिएको बताउनुभयो ।
बगैँचामै गएर अभ्यास गराउँदा किसान छिटो सिक्ने र एकापसमा बगैँचाको व्यवस्थापनबारे अनुभव आदानप्रदान गरेर गुणस्तरीय स्याउ उत्पादनका लागि जोड दिने प्राविधिहरुको भनाइ छ ।
चन्दननाथ, तातोपानी, गुठीचौर र पातारासीका १० किसानको बगैँचामा स्याउ बगैँचा व्यवस्थापनको व्यावहारिक अभ्यास गरिएको हो । जुम्लासँगै कालीकोटको रासकोट र तिलागुफा नगरपालिकाका किसानको बगैँचामै कृषि प्राविधिक पुगेर सीप सिकाउन थालेका छन् ।
यो पटक कृषि प्राविधिकले ३ सय ७५ जना किसानलाई व्यवस्थापन र काँटछाँटको व्यावहारिक ज्ञान दिएका छन् । किसानलाई बगैँचामै बोलाएर व्यवस्थापन गर्न सिकाउँदा निकै लाभान्वित भएका छन् । बिरुवा लगाउनेदेखि काँटछाँट, मलखादको प्रयोग लगायतका विषयका किसानलाई सहजीकरण गर्ने गरिएको निमित्त प्रमुख पोखरेलले जानकारी दिनुभयो ।
किसानको जीवनस्तरमा परिवर्तन ल्याउन सीप निकै प्रभावकारी हुने गरेको छ । स्याउ खेतीमा किसानको आकर्षणसमेत बढाउने गरेको छ । स्याउ व्यवस्थापन र काँटछाँट गर्न किसान आफँै परिपक्व भएमा सहज हुने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्