७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम ३६ महिना बित्दा १५ प्रतिशत मात्र सकियो


871
Shares

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम १५ प्रतिशत मात्रै सकिएको छ ।

एसियन राजमार्गको गुणस्तर मापदण्डमा ४२ महिनाभित्र सक्ने गरि ठेक्का सम्झौता भए पनि ३६ महिनावित्दा समेत उल्लेख प्रगति हुन सकेको छैन । २०७५ सालको माघ २४ गते सम्झौता भएको सडकको काम १५ प्रतिशतमात्रै भएको छ ।

२०१८ सालमा तत्कालीन राजा महेन्द्रले गैंडाकोटमा शिलान्यास गरेको सडक ५७ वर्षपछि फराकिलो हुन थालेको हो । अहिले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको १ सय १४ किलोमिटर सडक निर्माणको काम दुई खण्डमा गरिरहेको छ ।

दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई विस्तार गर्दै ठाउँअनुसार तीन, चार र ६ लेनको बनाउन लागिएको हो । १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत अनुमान गरिएको योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहेको छ ।

सडक विस्तारका क्रममा अहिले पुल, कल्भर्ट, ड्रेन निर्माण तथा सडक किनारमा माटो भर्ने काम भइरहेको छ । कतिपय स्थानमा काम सकेर कालोपत्रे सुरू गर्ने तयारी भएको छ । सडकका विभिन्न स्थानमा २ सय १५ वटा कल्भर्टहरू निर्माण हुनुपर्नेमा अहिले एक सयभन्दा बढी स्थानमा निर्माणको काम भइरहेको छ ।

दुबै खण्डका योजना प्रमुखहरूकाअनुसार निर्माण कम्पनीले समयमै सडक निर्माणको काम नसकिने जानकारी गराएर कन्सल्ट्यान्टलाई म्याद थप्न पत्र पठाएको छ । विस्तारको काम सुरु हुनुअघि सामान्य अवस्थामा तीन घण्टा लाग्ने यो सडकको यात्रावधि विस्तारको काम सकिएपछि एक घण्टा ५० मिनेटमा छोटिने दाबी गरिएको छ । तर अहिले यो सडकमा यात्रा गर्न कम्तीमा ५ घण्टा समय लाग्ने गरेको यात्रुहरू बताउछन् ।

सडक विस्तारमा अहिले दैनिक एक हजार भन्दा बढी श्रमिकले काम गरिरहेका छन् ।