
काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गरी विधिपूर्वक पूजा आराधना एवं दर्शन गर्नुभएको हो ।
उहाँले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गर्नुभएको थियो । राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर पुग्नु हुँदा उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापालगायतले स्वागत गरेका थिए ।
यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गरेको कोषले जनाएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिमा प्रत्येक वर्ष राष्ट्राध्यक्षले पशुपतिनाथमा विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।
मंगलबार राति भक्तजन आएसम्म दर्शन गर्न दिइने कोषले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्