
काठमाडौं । नोबेल मेडिकल कलेजका विद्यार्थीले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थान्तरणको माग राख्दै रिले अनसन सुरु गरेका छन् ।
बिहीबार देखि काठमाडौंको माइतीघर मण्डलामा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परिक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको नियमानुसार काठमाडौं विश्वविद्यालयमा भर्ना भई नोबेल मेडिकल क्यापसमा एमबीबीएस पढ्न विद्यार्थीले अनसन सुरु गरेका हुन् ।
नोबेल कलेजबाट पीडित १० विद्यार्थीले सरकारले बनाएको नियम कानून नमान्ने क्यापसबाट अन्य शिक्षण अस्पतालमा पढ्ने वातावरणसहित स्थानन्तरण गर्न सरकारसँग माग राख्दै रिलेअनसन भोक हड्ताल तथा धर्ना सुरु गरेका हुन् । उनीहरूले विगत ८० दिन देखि निरन्तर अतिरिक्त शुल्क हटाउन माग गर्दै आन्दोलन गरिरहेको बताए ।
नोबेल मेडिकल क्यापसका अनसनरत विद्यार्थी रुपेश पौडेलले चिकित्साशिक्षा आयोगले उपत्यका बाहिरका मेडिकल कलेजले ४४ लाखमा एमबीबीएस पढाउन भने पनि नोबेल मेडिकल कलेजले त्यो शुल्क भन्दा बढी शुल्क लिएकाले विद्यार्थी आन्दोलित भएको बताउनुभयो ।
उहाँले नोबेल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएपछि राज्यका सबै निकायमा अतिरिक्त शुल्क घटाउनको लागि माग लिएर गए पनि कसैले नसुनेको गुनासो गर्नुभयो । धेरै विद्यार्थीले आत्मासमर्पण गरेर कलेजले तोकेको शुल्कमा पढ्न थाले पनि १० विद्यार्थी भने शिक्षण अस्पतालमा स्थानन्तरणको लागि रिलेअनसनमा सुरु गरिएको जानकारी दिनुभयो ।
त्यस्तै, पौडेलले राज्यले बनाएको कानून राज्यले नै कार्यान्वय गर्न नसक्दा एमबीबीएस पढ्ने विद्यार्थी डिप्रेसनमा पुग्ने अवस्थामा रहेको बताउनुभयो । राज्यका हरेक निकायमा माग सम्बोधनको लागि गुहार माग्दा सुनुवाइ नभएकाले बाध्य भएर अनसन सुरु गरेको उहाँको भनाइ छ ।
एमबीबीएस पढ्न आएका विद्यार्थी राज्यको कानून कार्यान्वय गराउनको लागि सडकमा आउनु परेको पौडेलले गुनासो गर्नुभयो । रिले अनसनमा विद्यार्थी ले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न, सन् २०१५/१६ मा पढेका विद्यार्थीको इन्टर्नसीपको व्यवस्थापन गर्न, सुरक्षित स्थानमा पढ्ने वातावरण बनाउन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्