२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


खेर्सन रुसी सेनाको नियन्त्रणमा


494
Shares

एजेन्सी । रुसी सेनाले दक्षिणी युक्रेनमा अवस्थित एउटा महत्वपूर्ण नगरलाई नियन्त्रणमा लिएर कर्फ्यू लगाएको छ ।

रुसी सेनाले खेर्सन नगरलाई नियन्त्रणमा लिएको हो । उक्त सहरका मेयर इगोर कोलिखाएभले नगर परिषद्को भवनमा रुसी पसिसकेको र कर्फ्यू लगाएको जानकारी गराएका छन् । उनले फेसबुकमा एक पोष्ट गर्दै नगरलाई रुसी सेनाले नियन्त्रणमा लिएको बताएका हुन् ।

कोलिखाएभले रुसी सेनालाई नगरबासीमाथि गोली नचलाउन समेत आग्रह गरेका छन् । उनका अनुसार खेर्सानमा हाल एक जना पनि युक्रेनी सैनिक छैनन् । त्यस्तै, कोलिखाएभले नगरबासीलाई ‘युक्रेनको झण्डा फर्फराइ राख्नका लागि’ रुसी सेनाको आदेश पालना गर्न अपिल गरेका छन् ।

हाल खेर्सनमा बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ भने बाहिर जाँदा दुई जनाभन्दा बढी जान नपाउने नियम लागू गरिएको छ । साथै, नगरमा खाद्यान्न, औषधिसहितका अत्यावश्यक सामान बोकेका कारलाई मात्रै प्रवेश गर्न दिइएको छ ।

बन्दरगाह नगरको रुपमा चिनिने खेर्सन युक्रेनमा सैन्य कारबाही गरेपछि रुसको नियन्त्रणमा गएको पहिलो महत्वपूर्ण नगर हो । झण्डै तीन लाख मानिस बस्ने उक्त नगर पाजीजहाज निर्माण गरिने युक्रेनको प्रमुख सहरको रुपमा समेत चिनिन्छ ।

कृष्ण सागरमा मिसिने डिनिपर नदीको किनारामा अवस्थित खेर्सनमाथि रुसी सेनाको नियन्त्रणलाई महत्वका साथ हेरिएको छ । किनभने रुसलाई त्यहाँ सैन्य अखडा निर्माण गरेर युक्रेनको उत्तरी क्षेत्रतर्फ थप अघि बढ्ने बाटो समेत खुलेको छ ।