
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य नारायण दाहालले महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन नभनेको स्पष्ट पार्नुभएको छ ।
शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीहरूसँग बोल्दै केन्द्रीय सदस्य दाहालले संशोधनपछि एमसीसी पास गर्नसक्ने कुरा महाधिवेशनले निर्णय गरेको र सोही अनुसार नै एमसीसी पास भएको दाबी गर्नुभयो ।
‘महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन, गर्ने नै होइन भनेको हुँदै होइन, परिमार्जनसहित अनुमोदन गर्ने भन्ने कुरा हो,’ उहाँले भन्नुभयो, ‘अहिलेको व्याख्यात्मक घोषणामा महाधिवेशनको मर्म समेटिएको छ ।’
केन्द्रीय सदस्य दाहालले सुरुमा आएको एमसीसीको ठोस र मूर्त रूप अहिलेको व्याख्यात्मक घोषणाले संशोधन गरेर दिएको बताउनुभयो ।
‘एमसीसी जसरी आएको थियो, त्यसको संशोधनको ठोस र मूर्त रूप अहिलेको व्याख्यात्मक घोषणाले दिएको छ,’ उहाँले थप्नुभयो, ‘महाधिवेशनले भनेको दिशातिर नै अघि बढेको छ, अब अमेरिकाबाट अनुमोदनन गराउन कुटनीतिक संघर्ष मात्र बाँकी छ ।’
व्याख्यात्मक घोषणाबाट पास गरिएको एमसीसीलाई अमेरिकाले स्वीकारे मानो खोज्दा पाथी फेला पर्ने उहाँको भनाइ छ । पदाधिकारीको विषयमा भने जतिसक्दो चाँडो टुंगो लगाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्