
काठमाडौं । प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को अनुमोदन गरेको विरोधमा विभिन्न आठवटा पार्टीले शुक्रबा काठमाडौंमा प्रदर्शन गरेका छन् ।
राष्ट्रघाती सम्झौता संसदबाट अनुमोदन गरेको भन्दै उनीहरुले तीब्र आक्रोश व्यक्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले गरेको प्रदर्शनका सहभागीले एमसीसी सम्झौताको विरोधमा लेखिएका विभिन्न प्लेकार्ड र ब्यानर बोकेका थिए ।
माइतीघर, त्रिपुरेश्वरबाट सुरु भएको प्रदर्शनपछि खुल्लामञ्चमा आमसभा आयोजना गरिएको थियो । आम सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेपाली जनताले एमसीसीलाई अनुदानका रुपमा होइन, घातका रुपमा बुझेको जिकिर गर्नुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुर्सी र पैसाका लागि देशलाई एमसीसी दिएर घात गरेको उहाँको आरोप थियो । कुर्सी र पैसाको दास बनेपछि नेताहरु अन्धो भएको चन्दको भनाइ थियो ।
देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले संसदले एमसीसी पास गरेर नेपालले अमेरिकालाई आफ्ना योजना लागू गर्न बाटो खोलिदिएको जिकिर गर्नुभयो । साम्राज्यवादी योजना लागू गर्न अमेरिकालाई अब सहज हुने उहाँले टिप्पणी गर्नुभयो । गजुरेलले देशमा एमसीसीविरुद्ध अहिले राँको दन्किरहेको र त्यसले साम्राज्यवादलाई जलाएर छोड्ने चेतावनी पनि दिनुभयो ।
गजुरेलले एमसीसी खारेज गर्न अझै सम्भव रहेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्