१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्तारुढ दलहरू स्थानीय तहको निर्वाचन धकेल्ने खेलमा लागे : उपाध्यक्ष नेम्वाङ


156
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले सत्तारुढ दलहरू भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाउनुभएको छ ।

संविधानसभाका अध्यक्ष समेत रहनुभएका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरूले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको आरोप लगाउनुभयो ।

प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरूले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाउनुभयो ।

उपाध्यक्ष नेम्वाङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै केही साथीहरू निर्वाचन भनेपछि किन डराउछन् भन्दै प्रश्न गर्नुभयो ।

‘केही साथीहरू किन जनतामा जाने भन्दा डराउँछन ? प्रतिगमन भन्छन । भरसक जनतामा जाने मिति पर सार्छन्,’ उहाँले भन्नुभयो, ‘बल्लबल्ल तपाईँ–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं तर, अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले ठूलो चुनौति मोलेर बनाएको नेपालको चुच्चे नक्सा आफैँले सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै उपाध्यक्ष नेम्वाङले आक्रोश व्यक्त गर्नुभयो ।

नेपाली जनताको निम्ति नेपालको भूमि समेटेर बनाइएको चुच्चे नक्सा प्रिय भएको भन्दै उहाँले वर्तमान सरकारले त्यसलाई गायव बनाएको आरोप लगाउनुभयो ।