
काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको सफल प्रत्यारोपण गरिएको छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार बिहान १० बजे शुरु भएको प्रत्यारोपण शल्यक्रिया झण्डै पाँच घण्टा लागेको थियो ।
प्रत्यारोपण पश्चात अस्पतालले पत्रकार सम्मेलन गरी नयाँ मिर्गौलाले काम गर्न थालिसकेको र स्वास्थ्य अवस्था सामान्य अवस्थामा रहेको जनाएको छ ।
अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्काले सबै मुख्य सूचाकांकहरु राम्रो अवस्थामा रहेको र हाल प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिईएको जानकारी दिए ।
यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समीक्षा सग्रौंलाको समेत स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा. खड्काले बताए । प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वले गरेको प्रत्यारोपणमा डा. उत्तम कुमार शर्मा र भारतीय चिकित्सकद्वय प्रा डा. अनन्त कुमार र डा दिनेश खुल्लर लगायत रहेको अस्पताले जनाएको छ ।
यस्तै डा. दिव्या सिंह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली पनि प्रत्यारोपणमा सहभागी रहेका थिए ।
एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा डा. सुवास आचार्यको टोली रहेको थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य अवस्था रहेमा १० दिनपछि अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ ।
प्रधानमन्त्री ओलीको यो दास्रो मिर्गौला प्रत्यारोपण हो । यसअघि वि.स. २०६४ सालमा भारतको एपोलो अस्पतालमा उहाँको मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्