७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बाँके कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिँदा समस्या


52
Shares

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राखिँदा समस्या सिर्जना भएको छ ।

३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीहरुले विभिन्न सरुवा रोगहरुको सामना गर्नु परेको र न्युनतम सुविधासमेत पाउनबाट बञ्चित भएका हुन । कैदीबन्दीको चापले नयाँ कारागार भवन निर्माणमा पनि समस्या देखिएको नेपालगञ्ज कारागारका जेलर राजकुमार सोनकरले बताउनुभयो ।

क्षमताभन्दा बढी कैदीबन्दी बस्दा कारण लुतो लगायतका सरुवा रोगको समस्या र शौचालयको समस्या हुने गरेको छ । कैदीबन्दीलाई व्यवस्थित रुपमा राख्ने उद्देश्यले सरकारले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौंबस्तामा ३ हजार क्षमताको अत्याधुनिक क्षेत्रीय कारागार भवन निर्माण सुरु गरेको ५ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।

कारागार निर्माण गर्न मूल्य अभिवृद्धि कर भ्याटबाहेक ५३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा ठेकेदार कम्पनी पप्पु–रसुवा जेभीले ३८ करोड ६८ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेकोथियो । २०७३ कात्तिक ८ गते सम्झौता हुँदा ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न ३६ महिनाको समय दिइएको थियो ।

तर, यो समयमा कामपूरा नहुँदा सो निर्माण कम्पनी कालो सूचीमा परेकोछ । अहिले रसुवा निर्माण कम्पनीले एक्लै काम गरिरहेको छ । कारागार व्यवस्थापन विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कारागारको क्षमता करिव १६ हजार छ।

तर नयाँ कारागार भवन निर्माण नहुँदा क्षमता भन्दा झन्डै दोब्बर बढी कैदीबन्दी राखिएको छ ।