
काठमाडौं । नेकपा माओवादी केन्द्रका तीन नेताले एमसीसीबारे पार्टीले गरेको निर्णयका सन्दर्भमा नोट अफ डिसेन्ट राखेका छन् ।
नेताहरु लीलामणि पोखरेल, देव गुरुङ र कृष्ण बहादुर महराले पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकमा छलफलका गरियोस् भनी दर्ता गराएको नोट अफ डिसेन्ट अध्यक्ष दाहालले सोमबारको बैठकमा प्रस्तुत गर्नुभएको छ ।
सो नोट अफ डिसेन्टमा यही फागुन १५ गते सदनबाट व्याख्यात्मक घोषणा गरी एमसीसी अनुमोदन गर्ने निर्णयमा असहमति रहेको स्पष्ट गरिएको छ ।
एमसीसी सम्झौता आर्थिक सहायताको सम्झौता भनिएको भएतापनि पछिल्लो समयमा अमेरिकी अधिकारीहरूले यस सम्झौतालाई हिन्द प्रशान्त महासागरीय रणनैतिक साझेदारीको अंग भनेको तीन नेताले जनाएका छन् । अमेरिकी अधिकारीले नै सम्झौतालाई संसद्बाट अनुमोदन गराउनका लागि नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको तहसम्म उठेर बारम्बार दवाब दिनुले यो सम्झौताको पछाडिको सामरिक उद्देश्य अनरुप अन्तर्निहित रहेको यथार्थता प्रष्ट भएको ती नेताको भनाइ छ ।
यस्तो सम्झौताबारे गहन छलफल र राष्ट्रिय सहमति बिना हतारमा सदनबाट वैधानिक मान्यता दिन अनुमोदन गरिनु झन् गम्भीर गल्ती भएको नोट अफ डिसेन्टमा उल्लेख गरिएको छ । संसदमा प्रतिपक्षले ६ महिना पूर्वदेखि बैठक अवरुद्ध गरिरहेको अवस्थामा संसदको बैठक सञ्चालन सम्बन्धी सामान्य प्रजातान्त्रिक विधिसम्म पनि अवलम्बन नगरी एक दिनमा रातारात नोकरशाही ढंगले अनुमोदन गरिएको भन्दै नेताहरुले यी विषयहरुमा पार्टीमा गम्भीरताका साथ आत्मसमीक्षा गर्न माग गरेका छन् ।
बैठकमा अध्यक्ष दाहालले पार्टीभित्र मतभेद रहेको स्वीकार गर्दै एमसीसीका सन्दर्भमा देखिएका नोट अफ डिसेन्ट लगायतका विषयमा आगामी स्थानीय तहको निर्वाचनपछि छलफल गरिने जवाफ दिनुभयो । सबै विषयहरु पार्टी कार्यालयमा पार्टी सम्पत्तिको रुपमा दर्ज भएको भन्दै उहाँले यसबारे आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनपछि छलफल गर्ने प्रस्ताव गर्नुभएको हो ।
अध्यक्ष दाहालले सबै दलहरु स्थानीय निर्वानमा होमिइसकेको अवस्थामा निर्वाचन सकिएपछि केन्द्रीय समितिको बैठकमा फेरि फोरम चलाएर तलसम्म पनि निश्चित समय छलफल चलाउन सकिने जवाफ दिनुभयो । उहाँले आवश्यक पर्दा संघीय चुनावपछि विशेष महाधिवेशन राख्न सकिने पनि बताउनुभएको छ ।
अध्यक्ष दाहालले केन्द्रीय समिति बैठक आगामी जेठ २० गतेलाई प्रस्ताव गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्