
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामरा हराएका छन् ।
निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक/एक गरी चारवटा क्यामरा हराएका छन् ।
बाघ गणनाका लागि राखिएका ठाउमा क्यामरा फेला नपरेको उहाँको भनाइ छ । अर्यालका अनुसार निकुञ्ज क्षेत्रभित्रै एउटा क्यामरा हात्तीले फुटालेको र अर्को राखेको ठाउँभन्दा ५० मिटर पर बाघले तानेर छाडेको भेटिएको छ । बाघ गणनाका लागि निकुञ्जले त्यसको आसपास क्षेत्रमा स्वचालित क्यामरा जडान गरेको हो ।
शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको २ सय ६० वटा ग्रीडमा विभाजन गरी बाघ गणना अगाडि बढाइएको थियो । निकुञ्जले ५ सय २० वटा स्वचालित क्यामेरा जडान गरी बाघ गणनाको कार्य गरेको छ ।
निकुञ्जका विभिन्न स्थानमा २० क्याम्पमा ७० प्राविधिक र पाँच हात्ती खटाएर गणना कार्य गरिएको अधिकृत अर्यालको भनाइ छ । २१ दिनसम्म बाघ गणना गरिएको थियो । बाघ गणनाका लागि राखिएका स्वचालित क्यामरा खिचेका फोटो ग्रिडअनुसार छुट्याउने कार्यमा प्राविधिकको टोलीले काम अगाडि बढाएको छ । शुक्लाफाँटा ३ सय ५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।
निकुञ्ज, थोरै क्षेत्रफलमा धेरै बाघ भएको क्षेत्रका रुपमा समेत परिचित छ ।
प्रतिक्रिया दिनुहोस्