६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


युक्रेनबाट ५६२ नेपालीको उद्धार


117
Shares

काठमाडौं । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरु सुरक्षित स्थानमा पुगेका पुगेका छन् ।

गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका हुन् ।

शर्माका अनुसार हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेका हुन् ।

युक्रेन युद्धबाट बिस्थापित भै विभिन्न देशका सिमाबाट निस्किएका नेपालीहरु सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुक तिर लागेका छन् । ती मध्ये करिब ४ दर्जन नेपाली गैरआवासीय नेपाली संघ पोर्चुगलको सम्पर्कमा पुगेको संघका महासचिव राज कुमार थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार ती नेपालीहरुलाई एनआरएन पोर्चुगलले आवश्यक कानुनी तथा व्यवहारिक विषयमा सुझाव र सहयोग दिईरहेको छ । उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदुत रामकाजी खड्काको अध्यक्षतामा र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री के.सी.को संयोजत्वमा गठित एक उच्चस्तरीय समिति सकृय रहेको छ ।

युद्धबाट विस्थापित नेपालीहरुको उद्धारको लागि राजदुत खड्का, एनआरएनए अध्यक्ष कुमार पन्त सिमा क्षेत्रमा आफै खटिएका थिए ।

युक्रेनबाट विस्थापितहरुलाई नेपाली समुदायकै सहयोगमा बिभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकहरुलाई भारत सरकारबाट संचालित उडान मार्फत नेपाल पठाउन आवश्यक पहल समेत भैरहेको जनाएको छ ।

उद्धार समितिले युक्रेनबाट विस्थापित भएका नेपालीहरुको नियमित रुपमा तथ्यांक संकलन गर्दै आएको छ ।