१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाकाली अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सञ्चालन हुने


26
Shares

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्षित गरि डायलासिस सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सुरु गर्ने योजनाका साथ काम अघि बढाइएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अर्जुन भट्टले आगामी असारभित्र सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य सुरु गरिएको जानकारी दिनुभयो । त्यसका लागि भवन निर्माण भइरहेको र जनशक्ति तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।

अस्पतालमा सो सेवा सञ्चालनका लागि पाँच मेसिन खरिद गरिएका छन् । ती मेसिनको मूल्य रु एक करोड २५ लाख रहेको छ । अस्पतालले स्वास्थ्यकर्मीलाई तालिमका लागि समन्वय अघि बढाएको छ । डायलासिस सेवाका लागि फिजिसियनदेखि स्टाफ नर्सलगायत १० जनालाई तालिम दिनुपर्ने डा. भट्टले बताउनुभयो ।

उहाँका अनुसार सेवा सञ्चालन भएपछि दैनिक १० देखि १५ जनालाई डायलासिस गर्न सकिन्छ । अहिले कञ्चनपुरमा मात्रै एक सय बढी मिर्गाैलाका बिरामी सेती प्रादेशिक अस्पताल र सीमावर्ती भारतीय बजारमा डायलासिस गराइरहेका छन् ।

यसैगरी, अस्पतालमा जडान हुने दुईवटा अक्सिजन प्लान्टमध्ये एक प्लान्ट जडान भई उत्पादन सुरु भएको छ । अर्को अक्सिजन प्लान्ट जडानका लागि काम अगाडि बढाइएको छ । अस्पतालमै प्लान्ट जडान भएपछि बिरामीले अक्सिजनकै लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।